सहकारीहरुलाई एक हप्ताभित्रै वित्तीय विवरण सार्वजनिक गर्न विभागको निर्देशन
सहकारी विभागले एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न सहकारी संस्थालाई निर्देशन दिएको छ ।हालै जारी गरेको सो निर्देशनमा विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो ।
सो निर्देशनबमोजिम अब सहकारी संस्थाले सेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल सेयर सदस्य सङ्ख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषमा रहेको रकमबारे सदस्यलाई नियमित रूपमा जानकारी गराउनुपर्नेछ ।
यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ । विभागले जारी गरेको निर्देशनमा सहकारी ऐन २०७४ को दफा ७३ मा भएको प्रावधानबमोजिम आफूले बुझाउनुपर्ने मासिक÷वार्षिक र माग भएका अन्य विवरण यथासमयमै नियामक निकायमा बुझाउने साथै वित्तीय सूचना कोपोमिस प्रणालीमा प्रविष्ट गर्नुपर्ने उल्लेख छ ।