जोखिम भार बढेपछि लगानी घटाउँदै बैंक
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी निरुत्साहित गर्न जोेखिम भार बढाएपछि बैंकहरूले ती क्षेत्रमा कर्जा घटाउन थालेका छन् । जोखिम भार वृद्धिका कारण बैंकहरूलाई पूँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) मा दबाब परेपछि त्यस्ता क्षेत्रमा बैंकहरूको कर्जा घटेको छ ।
राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै ट्रस्ट रिसिप्टलगायत आयात कर्जा, व्यक्तिगत ओभरड्राफ्ट, रियल इस्टेट, व्यक्तिगत हायर पर्चेज तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भार पुनरवलोकन गर्ने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार फागुनमा निर्देशन जारी गरी व्यक्तिगत ओभरड्राफ्ट र सवारीसाधन खरीद कर्जाका साथै रियल इस्टेट र शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत र ट्रस्ट रिसिप्ट (टीआर) कर्जाको भने जोखिम भार १२० प्रतिशत पुर्याएको छ । यो जोखिम भार असारबाट लागू भएको छ ।
यसैगरी केन्द्रीय बैंकले चालू आवको साउनदेखि जोखिम भार बढाएकै क्षेत्रका लागि धितोमा समेत कडाइ गरेको छ । साउन १८ मा जारी भएको निर्देशनमा प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, शेयर कर्जा प्रदान वा नवीकरण गर्दा घरजग्गाको बजारमूल्यमा काठमाडौं उपत्यकाभित्र ३० र उपत्यबाहिर ४० प्रतिशत दिन पाइने व्यवस्था गरेको छ । उक्त निर्देशनमा २५ लाखसम्मको शेयर कर्जाको जोखिम भार घटाएर सय प्रतिशत कायम गरेको छ ।
राष्ट्र बैंकको नीतिसँगै व्यक्तिगत ओभरड्राफ्ट, सवारीसाधन खरीद, शेयर धितो, आयातलगायत क्षेत्रमा प्रवाह हुने कर्जा घट्न थालेको हो ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार सबैभन्दा बढी आयातका लागि प्रयोग हुने ट्रस्ट रिसिप्ट कर्जामा भारी गिरावट देखिएको छ । अघिल्लो आवमा ४८ दशमलव ७ प्रतिशतले वृद्धि भएको यो कर्जा गत आवमा ६१ दशमलव ९ प्रतिशतले घटेको छ । जोखिम भार वृद्धिका अतिरिक्त राष्ट्र बैंकले केही सामानको आयातमा नगद मार्जिनको प्रावधान लागू गर्नुका साथै सरकारले विलासी सामानको आयातमै रोक लगाएको थियो । यसैगरी राष्ट्र बैंकले सुनको आयात कोटा पनि आधा कटौती गरेको छ । यस्तै जोखिम भार वृद्धि भएको व्यक्तिगत ओभरड्राफ्ट ५ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही शीर्षकको कर्जा ६४ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकले कडाइ गरेको अर्को क्षेत्र शेयर धितो कर्जा पनि गत आवमा २४ दशमलव ३ प्रतिशतले घटेको छ । २५ लाखसम्मको कर्जामा भने जोखिम भार घटाएपछि १० दशमलव ८ प्रतिशतको वृद्धि देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै बैंकहरूले सवारीसाधन खरीदका लागि प्रदान गर्ने हायर पर्चेज कर्जा समग्रमा २ दशमलव २ प्रतिशतले घटेकामा जोखिम भार बढेको व्यक्तिगत सवारीसाधन कर्जा भने ८ दशमलव ८ प्रतिशतले घटेको छ ।
जोखिम भार वृद्धि गरे पनि बैंकहरूको रियल इस्टेट कर्जा प्रवाह वृद्धि भएको छ । गत आवमा यस शीर्षकमा बैंकहरूको कर्जा प्रवाह २४ दशमलव ३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल सरकार र राष्ट्र बैंकको नीतिअनुसार अनुत्पादक क्षेत्रको लगानी निरुत्साहित हुँदै गएको बताउँछन् ।
‘आयातमा कडाइ गर्ने र अनुत्पादक क्षेत्रमा कर्जा निरुत्साहित गर्ने नीतिले त्यसमा हुने बैंकहरूको लगानी घट्दै गएको छ,’ उनले भने, ‘बैंकहरूको कर्जा उत्पादनशील क्षेत्रमा हुनुपर्छ भन्ने हाम्रो जोड हो ।’ जोखिम भार बढाएपछि बैंकहरूलाई पूँजी पर्याप्तता कायम गर्न ती क्षेत्रको कर्जा घटाउनुपर्ने वा पूँजी बढाउनुपर्ने दबाब रहेको उनले बताए ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरूका लागि पूँजी पर्याप्तता अनुपात ११ प्रतिशत तोकेको छ । २०७८ चैतसम्ममा वाणिज्य बैंकहरूमा औसत १३ दशमलव ४९ प्रतिशत पूँजी पर्याप्तता रहेकोमा अधिकांश बैंकको यो अनुपात १४ प्रतिशतभन्दा कम छ । तोकिएको पूँजी पर्याप्तता कायम नगर्ने बैंकलाई राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाउने र शीघ्र सुधारात्मक कारबाही गर्न सक्ने प्रावधान छ । यादव हुमागाई