अझै कति महीना रहला घरजग्गा कारोबारमा मन्दी ?
विगत लामो समयदेखि ओरालो लागेको घरजग्गा कारोबारले भदौमा पनि निरन्तरता पाएको छ । भदौ महीनाभरी ३४ हजार ७०० घरजग्गा किनबेच भएका छन् । साउनमा ३३ हजार घरजग्गा किनबेच भएका थिए ।
साउनको तुलनामा भदौमा कारोबारको संख्या थोरै बढे पनि यसले विगतको लय समात्न कति वर्ष कुर्नुपर्ने हो भन्ने अनुमान लगाउन सजिलो छैन ।
घरजग्गा कारोबार उच्च विन्दुमा हुँदा मासिक ८८ हजारसम्म घरजग्गा किनबेच भएका थिए भने सामान्य समयमा पनि ५० देखि ६० हजार घरजग्गा किनबेच हुने गरेका थिए ।
भदौमा राजस्व संकलन साढे ३ अर्ब रूपैयाँ पुगेको छ । साउनमा २ अर्ब ७३ करोड रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो ।
साउनको तुलनामा भदौमा ८३ करोड रूपैयाँ बढी राजस्व संकलन भएको छ । तर, यो सामान्य समयमा हुने राजस्व संकलनको आधाभन्दा पनि कम हो ।
घरजग्गा कारोबार उच्च हुँदा एकै महीनामा करीब १० अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो । सामान्य समयमा पनि ६ देखि ७ अर्ब रूपैयाँ राजस्व संकलन हुने गरेको थियो ।
घरजग्गा कारोबारमा मन्दी आएसँगै मासिक राजस्व संकलन घटेर ३/४ अर्ब रूपैयाँ वरिपरि मात्रै भइरहेको छ ।
उपत्यकाबाहिर सुनसरी, विराटनगर, चितवन र पोखरामा १० करोड रूपैयाँ बढी रजिष्ट्रेशन दस्तुर संकलन हुने गरेकोमा अहिले काठमाडौंका डिल्लीबजार, लगनखेल, चाबहिल, कलंकी, भक्तपुर र साँखु मालपोत कार्यालयले मात्रै १० करोड रूपैयाँभन्दा बढी रजिष्ट्रेशन शुल्क संकलन गरेका छन् । अन्य कुनै पनि कार्यालयले १० करोड रूपैयाँ रजिष्ट्रेशन शुल्क संकलन गर्न सकेनन् ।
कित्ताकाट बढ्यो
जग्गा वर्गीकरणको काम नसकिए पनि भदौमा कित्ताकाटको संख्या भने बढेको छ । साउनमा जम्मा १५ हजार कित्ताकाट भएकोमा भदौमा २१ हजार ८७७ कित्ताकाट भएका छन् ।
भदौमा सबैभन्दा बढी नेपालगञ्ज मालपोत कार्यालयअन्तर्गत ३ हजार ८०० बढी कित्ताकाट भएका छन् । नेपालगञ्जपछि काठमाडौंमा साँखु, कलंकी लगायतका कार्यालयमा सर्वाधिक १५/१८ सय कित्ताकाट भएका छन् । त्यस्तै, घोराही (दाङ) र नवलपरासीमा १६/१७ सय कित्ताकाट भएका छन् ।
कहिले आउला कारोबारमा सुधार ?
विगत लामो समयदेखि मन्दीमा रहेको घरजग्गा क्षेत्रमा कहिले सुधार आउला भन्ने धेरैको चासोको विषय बनेको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव भएदेखि नै ओरालो लागेको यो क्षेत्र बैंकिङ च्यानलमा पर्याप्त तरलता नभएसम्म लयमा फर्किने सम्भावना छैन ।
तर, पछिल्लो समय सरकारले लिएका निर्णयका कारण यो क्षेत्र बढी दबाबमा आएकाले बैंकिङ क्षेत्रमा तरलता सहज हुँदैमा घरजग्गा कारोबारमा पहिलेजस्तो रौनक आउन नसक्ने घरजग्गा व्यवसायीहरूले बताएका छन् ।
यतिबेला सरकारले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । कृषि र गैरकृषि क्षेत्रको जग्गा छुट्ट्याउन मंसिरसम्मको समय दिइएको छ । तर, अहिलेसम्म निकै कम स्थानीय तहले मात्रै वर्गीकरणको प्रयास गरेका छन् । उनीहरूले वर्गीकरण गर्न धेरै समय लगाएमा त्यतिन्जेलसम्म घरजग्गा कारोबारमा सहजता आउने ठाउँ छैन । त्यसकारण २/४ महीनापछि तरलता सहज भए पनि कारोबारमा सुधार आउने सम्भावना देखिन्न ।
त्यसका लागि पहिला स्थानीय तहले आफ्नो क्षेत्रमा पर्ने जग्गा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण नगरेसम्म कित्ताकाट खुल्ने अवस्था छैन । त्यतिन्जेल सगोल कित्ता किनबेच (साबिकको कित्ताकाट गर्दा जति क्षेत्रफल छ सबै किनबेच गर्ने) गर्न मात्रै पाइने भएकाले तरलता सहज हुनेबित्तिकै वा ब्याजदर घट्नेबित्तिकै कारोबार सहज हुने अवस्था छैन ।
जग्गा वर्गीकरण र तरलता सहज दुवै कुरा भए पनि घरजग्गा कारोबारमा पहिलेजस्तो रौनक नआउने अर्को कारण भनेको नेपाल राष्ट्र बैंकले लिएका नीतिहरू छन् ।
अहिले नेपाल राष्ट्र बैंकले कर्जाको दुरूपयोग रोक्न बैंकहरूको ऋण लगानीमै कडाइ गरिरहेकोले अब पहिलेजस्तो एउटा शीर्षकमा कर्जा लिएर घरजग्गामा लगानी गर्ने सुविधा उद्योगी व्यवसायीलाई हुने छैन ।
काठमाडौं उपत्यकामा १ करोडको जग्गा किन्दा त्यसलाई धितो राख्दा ३० लाख रूपैयाँ मात्रै ऋण दिने व्यवस्था गरेको छ । यसको अर्थ काठमाडौं उपत्यकामा एउटा घर धितो राखेर घरजग्गा व्यवसायका लागि थप ऋण लिन सहज छैन । त्यसकारण सबै कुरा ठिक ठाउँमा आए पनि घरजग्गा कारोबार ठिक ठाउँमा आउन अझै केही वर्ष लाग्न सक्ने घरजग्गा व्यवसायीहरूले बताएका छन् ।