ब्याजदर बढ्दा आत्तिनु पर्दैनः डेपुटी गभर्नर मिश्र
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले ब्याजदर बढ्दा नआत्तिन आग्रह गर्नुभएको छ । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले ब्याजदर बढ्ने ट्रेण्ड भएकाले ब्याजदर बढ्दा धेरै आत्तिनु पर्दैन ।’
रुस र युक्रेन युद्धका कारण विदेशका केन्द्रिय बैंकले पनि ब्याजदर बढाएको हुँदा यसले नेपालमा प्रभाव पारेको उहाँको भनाइ छ । साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीति पनि सकारात्मक आउने पनि उहाँले बताउनुभयो ।
‘अहिले विभिन्न सूचकमा रेमिटान्सले ठूलो योगदान गरेको छ, हरेक महिना यो तथ्यांक बढी रहेको छ, पर्यटकको संख्या बढेको छ, नेपाल राष्ट्र बैंकले रेमिटान्स र पर्यटकबाट अर्थतन्त्र सहज हुने ठूलो अपेक्षा गरेको छ,’ उहाँले भन्नुभयो ।
अहिले नेपाल के के मा आत्मनिर्भर छ भनेर आयात र निर्यातको तथ्यांकले नदेखाएको बताउँदै उनले आगामी दिनमा लसुन, प्याज, आलु लगायत कृषिजन्य सामाग्रीमा आत्मनिर्भर हुनुपर्ने उहाँको भनाइ छ ।