उम्मेदवारलाई भोट नपाइने चिन्ता
निर्वाचन नजिकिँदै गर्दा नेता र उम्मेदवारलाई भोट नपाइएला कि π भन्ने चिन्ता छ । तर, गत साउनको कोसी बाढीका कारण घर–खेत डुबानमा परेका किसानलाई भने जहान परिवार कसरी पाल्ने भन्ने पीडा छ । उनीहरूलाई आउँदो वर्षामा बाढीको सम्भावित क्षतिबाट कसरी बाँच्ने भन्ने पीर छ । कोसी कटान र बाढी रोकथामको विषय चुनावी मुद्दा नै नबनेपछि कोसी टप्पुवासी निराश छन् ।
बाढीले धान खेत डुबायो । स्थानीयको वर्षभरिको गुजारा गर्ने मुख्य बाली नै धान हो । धान खेत नै डुबेपछि हिउँदमा भोकै हुने नै भयो । समयमै कोसी बाढी रोकथाम र नियन्त्रणको प्रयास नभएपछि यो अवस्था आएको हो । कोसी समस्या बुझेका दलका स्थानीय नेताले नियन्त्रणका लागि पहल नगरिदिएको र यसलाई चुनावी मुद्दा नबनाउँदा समस्यामा परेको स्थानीयको गुनासो छ ।
‘मंसिरमा समेत भकारीमा एक दाना धान नपर्ने भयो,’ बेलका नगरपालिका–३ एबीसी टप्पुका ६५ वर्षीय फूलमान माझीले भने, ‘३६ मुरी धान फल्ने खेत छ, अहिले ६ दाना धान छैन ।’ माझी दुई छोरा, दुई छोरी र श्रीमतीसहित करिब ६ वर्षदेखि यहाँ बस्दै आएका छन् । चौदण्डीगढी नगरपालिका–१ रानीटारका माझी त्यहाँको ३ रोपनी जग्गाको उत्पादनले वर्षभरि खान नपुगेपछि टप्पु आएको बताउँछन् । ‘रानीटारमा बाँदरले गरिखान दिएन,’ उनले भने, ‘यहाँ बाढीले उठीबास लाऊला जस्तो छ ।’
पूर्व–पश्चिम राजमार्गबाट उत्तर, चतराकोसी पुलभन्दा दक्षिण कोसीटप्पु वन्यजन्तु आरक्षण क्षेत्रभन्दा पश्चिममा टप्पु पर्छ । उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित टप्पुलाई वरिपरि सप्तकोसी नदीले फन्को मारेको छ । यो टप्पु एबीसी र श्रीलंका टप्पुको नामले परिचित छ । झट्ट हेर्दा उजाड र उराठलाग्दो मरुभूमि देखिए पनि कृषिजन्य उत्पादनका लागि टप्पु उर्वर मानिन्छ । करिब २१ हजार बिघा क्षेत्रफलमा फैलिएको टप्पुमा ३ हजार ५ सय घरधुरीको बसोबास छ । यातायातको सहज पहुँच नभएको टप्पुमा मान्छेले नै बोकेर कृषि उत्पादन बजारसम्म पुर्याउँछन् ।
‘यहाँ सुन फल्छ तर सुरक्षा छैन’ चिलैया टप्पुका ३४ वर्षीय राजकुमार मण्डलले भने, ‘चिलैया टप्पुकावासी धान, मकै, कोदो, गहुँ र तरकारी होइन सुन फलाउँछन् ।’ उदयपुर र सुनसरी दुई जिल्लामा पर्ने टप्पु प्रदेश–१ सरकारका मन्त्री जगदीश कुसियत, संघीय सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डाक्टर नाराण खड्काको निर्वाचन क्षेत्र हो । यस क्षेत्रका जनप्रतिनिधि जिम्मेवार ठाउँमा हुँदा पनि वास्ता नगरेको बराहक्षेत्र नगरपालिका–६ चिलैयाटप्पुका ७२ वर्षीय पदमराज राईले गुनासो गरे । कोसीको पूर्वी तटमा बाँध छ, तर पश्चिमतर्फ नहुँदा बर्सेनि सयौं बिघा जग्गा कोसीले कटान गर्ने गरेको उनले बताए । उदयपुरतर्फको एबीसी टप्पु जहाँ करिब १३ हजार घरपरिवार बस्छन् ।
यहाँ बिजुली, बाटो, स्कुल, आधारभूत स्वास्थ्य सेवासमेत नभएको बेलका नगरपालिका–३ एबीसी टप्पुका बासिन्दासमेत रहेका वडा सदस्य फालगुण कार्कीले बताए । प्राथमिक तहसम्म मात्र पढाइ हुने विद्यालय भए पनि उच्च शिक्षाका लागि सप्तकोसीको भँगालो तर्नुपर्ने बाध्यता छ ।
जुन प्रायः असम्भव देखिन्छ । उच्च शिक्षाका लागि नजिकैको भागवलपुर वा कोसी तरेर सुनसरीको महेन्द्रनगर जानुपर्ने हुन्छ । ‘आधारभूत सुविधा दिने होइन, टप्पु क्षेत्रको बसोबास उठाउन भनिएको छ,’ उनले भने, ‘२०७७ को जेठ २७ मा कोसीटप्पु वन्यजन्तु आरक्षण कार्यालयले टप्पु क्षेत्रबाट घरटहरा हटाइदिनु भन्दै पत्राचार गरेको थियो, त्यो अहिले पनि कायमै छ ।’ घरटहरा हटाउने कुरा हुँदा साउनमा बेलका नगरपालिका–८ डुम्रिबोटेबाट सप्तकोसी फुटेर बाढी पसेर बस्ती नै डुबाएको उनले बताए । content from ekantipur