आज मंगलबारदेखि कोरोना बीमाको दाबी भुक्तानी
कोरोना बीमाको दाबी भुक्तानी आज मंगलबारदेखि हुने भएको छ । कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ मंगलबारदेखि भुक्तानी हुने भएको हो । गत मंसिर ६ गते बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा कम्पनीहरुसँग बसेको बैठकले भोलिदेखि रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।
संघका अनुसार नेपाल पूनर्बीमा कम्पनीले आफ्नो भागमा परेको रकम थप संघमा पठाएको छैन । सो कम्पनीबाट रकम प्राप्त भए पश्चात रकम पूनः बाँडफाँड गर्ने निर्णय भएको र संलग्न बमोजिमको चेक बुझिलिई कम्पनीले थप गर्नुपर्ने २ करोड २७ लाख २७ हजार २७२ रुपैयाँ रकम थपि दाबी भुक्तानी प्रकृया शुरु गर्न अन्य कम्पनीलाई आग्रह गरेको छ ।
सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरुले २०७८ साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए । कम्पनीहरुले भुक्तानी रोकेको लामो समयपछि सरकारले आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।
सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानि नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने मोडालिटि बनेको थियो ।
प्राधिकरणकाअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले उक्त बीमालेख खरिद गरेका थिए । जसमध्ये लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको प्राधिकरणको तथ्यांक छ ।
सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रुपैयाँको दाबी परेको थियो । जसमध्ये हालसम्म २० निर्जीवन बीमा कम्पनीबाट ५१ हजार ६६९ बीमितलाई ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार २३५ रुपैयाँ बराबरको दावी भुक्तानी भएको हो । जुन कुल दाबी भुक्तानी संख्याको ३१.३० प्रतिशत हो भने कुल दाबी रकमको ३१.४८ प्रतिशत मात्रै भुक्तानी भएको हो ।
सरकारले भुक्तानी गर्न बाँकी रकम १० अर्ब ४ करोड ६ लाख ८३ हजार ३१९ रुपैयाँ र अनुदान रकम २ करोड ३ लाख ६४ हजार ११६ रुपैयाँ समेत गरी १२ अर्ब ३ करोड २५ लाख ३५ हजार ६७० रुपैयाँ दिन बाँकी छ ।