रोकिएन बैंक, वित्तविरुद्धको आक्रमणः त्रासमा कर्मचारी

५ चैत्र २०७९, आईतवार ०४:४०

कहिले आन्दोलन, त कहिले कर्मचारीमाथिको आक्रमण ?, यतिबेला नेपालका बैंकवित्तहरु त्रासमा छन् । बैंकवित्तले ब्याजदर बढाएको विरोधमा लामो समय प्रदर्शनमा उत्रिएका उद्योगी व्यवसायीहरुको आन्दोलन सेलाउन नपाउँदै फेरि कर्मचारीमाथि आक्रमण हुन थालेको छ ।

बिहीबार दिउँसो म्याग्दीस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि ज्यान लिने उद्देश्यसाथ साङ्घातिक आक्रमण भयो ।

यसअघि फागुन १७ गते जाजरकोटको भेरी नगरपालिकामा किस्ता उठाइरहेका एनआईसी एसिया लघुवित्तका एक जना कर्मचारीलाई दुई जना अज्ञात व्यक्तिले कालोमोसो दलेर कर्मचारीबाट नगदसहितको झोला लुटपाट गरेका थिए ।

यस्तै बीस लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने र नगरे कालोमोसो दलिदिने घोषणासहित व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको ‘कालोमोसो समूह’का संयोजक शम्भु थापा फागुन २४ गते चितवनबाट र अरू पनि देशका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

उक्त समूहद्वारा सार्वजनिक रूपमै अझै पनि बैङ्क तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण व्यवहार प्रदर्शन हुँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला सदस्य मकवानपुर उद्योग वाणिज्य सङ्घले फागुन २८ गते ‘बैङ्कमा नगद जम्मा नगरौँ’ भन्ने आशयसहितका ब्यानर लिएर हेटौँडा बजारमा प्रदर्शन गरेको थियो । सङ्घद्वारा ब्याजदरको विषयमा विरोध जनाउँदै एक दिनका लागि बैङ्क बन्द गराउन हेटौँडास्थित बैङ्क कार्यालयलाई पत्राचार थियो ।

यसअघि बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दी गरेका थिए ।

यस्तै उद्योगी व्यवसायीको छाता सङ्गठन मानिएको नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी र आगामी निर्वाचनका आकाङ्क्षीसमेतको सहभागितामा फागुन ३० गते नेपाल राष्ट्र बैङ्क नजिक ब्याजदर घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका थिए । यी त केहि प्रतिनिधि घटनामात्र हुन् । तर पछिल्लो केहि दिनयता बैंकवित्तमाथि चौतर्फी आक्रमण हुन थालेको छ । यस्ता घटनाहरुले बैंकका कर्मचारीहरु त्रासमा छन् ।

संरचनात्मक व्यवस्था हुँदाहुँदै सडकबाट समाधान खोज्ने प्रवृत्तिले समग्र बैंकिङ क्षेत्रलाई असर गर्ने नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी बताउँछन् । उनी भन्छन्, ‘व्यवस्थाभित्रैबाट समाधान खोज्नुपर्नेमा आफूखुसी गर्न खोज्नु अराजक प्रवृत्ति नै हो ।’ कतिपय व्यवसायीले चुनावी एजेन्डा तयार गर्न पनि बंैकिङ क्षेत्रमाथि नै प्रहार गरिरहेको उद्योगी व्यवसायीले नै बताउने गरेको उनको भनाइ छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यान बैंक तथा वित्तीय क्षेत्र र यसमा कार्यरत व्यक्तिमाथि सांघातिक आक्रमणको घटना, सडकमा आन्दोलनजस्ता अराजक गतिविधिले वित्तीय क्षेत्रको सुरक्षा र भविष्यमै प्रश्न उठ्ने अवस्था आएको बताउँछन् । उनले भने, ‘यस्तै अवस्था रहे हामी बैंक तथा वित्तीय संस्था चलाउन सक्दैनौँ । जनताको सम्पत्ति र हाम्रो जिउधनको रक्षा गर्न सरकार अत्यन्तै संवेदनशील हुनुप–यो, अराजकता रोक्नु प–यो ।’

वित्तीय क्षेत्रमाथिको हमलाले केन्द्रमा परेको लघुवित्त कम्पनीका कर्मचारी पछिल्ला गतिविधिले मानसिक रूपमै समस्यामा परेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा बताउँछन् ।

पूर्वअर्थसचिव रामेश्वर खनाल ब्याजदरलगायतका विषयलाई लिएर भइरहेका आन्दोलन र विरोधले बैङ्किङ प्रणालीलाई दीर्घकालीन असर पर्ने बताउँछन् ।

‘आक्रमण नरोकिए बैंकिङ सेवा बन्द गर्छौ’

बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीमथि भएको सांघातिक आक्रमणको निन्दा गर्दे अप्रिय घटना नरोकिए बैंकिङ्ग सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल बैंकर्स संघ, डेबलपमेन्ट बैंकर्स डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै पछिल्लो समय केही व्यक्ति÷समूहले बैंकका कर्मचारीप्रति गरेको अभद्र व्यवहारको निन्दा गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न समयमा मुलुकमा आईपरेको महा–भूकम्प, कोभिड महामारी जस्ता विषम परिस्थितीमा समेत आफ्नो ज्यानलाई जोखिममा राखेर अग्रपंक्तिमा रही सेवा प्रदान गरेका कर्मचारीहरु माथि भएको धरपकड, सांघातिक हमला, कार्यालयमा तालाबन्दी प्रति हाम्रो घोर आपत्ती रहेको र घट्नामा संलग्न दोषीहरुलाई यथाशिघ्र हदैसम्मको कारवाहीको माग गर्दछौं ।’

यस्तै जारी विज्ञप्तीमा अराजक र उत्तेजित अभिव्यक्ति दिई यस प्रकारका घटनालाई प्रोत्साहन गर्ने नेतृत्व पंक्तिलाई समेत कानूनी दायरामा ल्याउन माग गरिएको छ । अप्रिय घटना नरोकिएमा बैंकिङ्ग सेवा नै सुचारु हुन नसक्ने सम्भावना रहेको भन्दै उनीहरुले काम गर्ने वातावरण मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

बैंकिङ्ग जस्तो अत्यावश्यक एवं संवेदनशील क्षेत्रमा भईरहेको आक्रमणले समस्त बैंकिङ्ग क्षेत्र नै चिन्तित रहेको बताउँदै यस प्रकारका क्रियाकलापहरु आर्थिक गतिविधिमा समेत नकरात्मक असर पार्ने र अन्ततः अर्थतन्त्र नै धराशायी हुन सक्ने हुनाले यस प्रति सजग रहन विज्ञप्तिमा भनिएको छ।

सुरक्षालाई ध्यान दिन गृहको परिपत्र

गृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको छ।

बैंकवित्त संस्थाका कमचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको हो। गृहले बैंकवित्तका कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न निर्देशन दिएपनि उनीहरुमाथिको आक्रमण भने रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *