११ वाणिज्य बैंकको शेयर मूल्य ३०० रुपैयाँभन्दा कम, कुनको कति ?

२१ श्रावण २०८१, सोमबार ०४:११

गत असार १७ गतेदेखि २ हजार ३० विन्दुबाट उकालो लागेको धितोपत्र दोस्रो बजार २ हजार ८०५ विन्दु पार गरी २ हजार ७५५ दशमलव ६२ विन्दुमा बसेको अवस्था छ । यो बीचमा बजार करीब ३६ प्रतिशत वृद्धि भएको देखिन्छ ।

करीब ३ वर्ष घटेको बजारमा पछिल्लो एक महीनादेखि लगानीकर्ताको उत्साह बढेको छ । दैनिक हजारौंको संख्यामा धितोपत्र कारोबारका लागि टीएमएस खाता खोलिने गरेको बजार सञ्चालकले जानकारी दिएको छ ।

यो बीचमा वित्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएको तथ्याङ्क सार्वजनिक भइरहँदा आम लगानीकर्ताले कुनै समय लगानीको प्रमुख क्षेत्रका रूपमा हेर्ने वाणिज्य समूहले कति कमाए भन्ने जिज्ञासा पनि आम मानिसमा भएको हुन सक्छ ।

बजार उकालो लाग्न शुरु हुनुभन्दाअघि असार १६ गतेको वाणिज्य बैंकको शेयर मूल्य र पछिल्लो कारोबार दिन साउन १६ गतेको शेयर मूल्यसँग तुलना गर्दा नबिल बैंकको शेयर मूल्य सर्वाधिक बढेको देखिन्छ । असार १६ गते प्रतिकित्ता ४५२ रुपैयाँ रहेको नबिल बैंकको शेयर मूल्य एक महीनामा १९३ रुपैयाँले बढेको छ ।

पछिल्लो कारोबार दिन नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ कायम भएको हो । नबिलपछि एभरेष्ट बैंकको शेयर मूल्य एक महीनामा १५२ रुपैयाँ १० पैसाले बढेको तथ्याङ्क नेप्सेले दिएको छ । गत असार १६ गते प्रतिकित्ता ५१८ रुपैयाँ कायम रहेको एभरेष्ट बैंकको शेयर मूल्य साउन १७ गते ६७० रूपैयाँ १० पैसा कायम भएको हो ।

वाणिज्य बैंकहरूमध्ये बढी मूल्य भएको कम्पनी भने स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । साउन १७ गते यो बैंकको शेयर मूल्य ६९२ रुपैयाँ कायम भएको हो । असार १६ गतेको तुलनामा स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य प्रतिकित्ता १३२ रुपैयाँले बढेको हो । २० वाणिज्य बैंकहरूमध्ये अझै ११ बैंकको शेयर मूल्य ३०० रुपैयाँभन्दा कम छ ।

पछिल्लो कारोबार दिन कुमारी बैंकको २१६ रुपैयाँ, प्रभु बैंकको २२३ रुपैयाँ ७० पैसा, लक्ष्मी सन्राइज बैंकको २३६ रुपैयाँ ५० पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २४९ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २५५ रुपैयाँ ९० पैसा, माछापुच्छ्रे बैंकको २५९ रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलको २६५ रुपैयाँ ९० पैसा, हिमालयन बैंकको २६६ रुपैयाँ, एनएमबि बैंकको २७१ रुपैयाँ ५० पैसा, नेपाल बैंकको २८१ रुपैयाँ ९० पैसा र प्राइम कमर्सियल बैंकको २९५ रुपैयाँ शेयर मूल्य कायम भएको छ ।

कुन बैंकको शेयर मूल्य कति ?

बैंकको नाम  साउन १७ को शेयर मूल्य रू. असार १६ को शेयर मूल्य रू. मूल्य वृद्धि रू.
नबिल बैंक 645 452 193
एभरेष्ट बैंक 670.1 518 152.1
नेपाल एसबिआई बैंक 433.1 289.9 143.2
स्ट्यान्डर्ड चार्टर्ड बैंक 692 560 132
एनआईसी एशिया बैंक 517 394.1 122.9
कृषि विकास बैंक 369.8 259 110.8
सानिमा बैंक 345 240.7 104.3
सिटिजन्स बैंक इन्टरनेशनल 265.9 161.9 104
सिद्धार्थ बैंक 341 238.6 102.4
प्राइम कमर्सियल बैंक 295 193 102
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 249 151.5 97.5
माछापुच्छ्रे बैंक 259 165 94
हिमालयन बैंक 266 174 92
एनएमबि बैंक 271.5 182.2 89.3
लक्ष्मी सन्राइज बैंक 236.5 149.9 86.6
प्रभु बैंक 223.7 138 85.7
ग्लोबल आइएमई बैंक 255.9 172.5 83.4
कुमारी बैंक 216.1 135 81.1
नेपाल बैंक 281.9 204 77.9

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

एक महीनाअघि (गत असार १६ गते) १० वाणिज्य बैंकको शेयर मूल्य २०० रुपैयाँभन्दा तल थियो । त्यतिबेला २०० रुपैयाँभन्दा कम शेयर मूल्य हुने कम्पनीहरूमा कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सन्राइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *