५.१ गुणा माग: रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारी कोटा आईपीओमा ठूलो आकर्षण

२४ मंसिर २०८२, मंगलवार ०६:३६

रिलायन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासन गरिएको आईपीओमा पहिलो दिनमै ५.१ गुणाभन्दा बढी आवेदन परेको छ। कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताका लागि छुट्याइएको थियो। सोमवार मात्रै १० हजार २० आवेदकले ५ लाख ८९ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ। बुक बिल्डिङ निर्देशिका अनुसार बोलकबोल प्रणालीमार्फत संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ तय भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।

आईपीओ निष्कासन अवधि मंसिर २५ गतेसम्म तोकिएको छ। आवश्यकता परे पुस ७ सम्म लम्ब्याउने व्यवस्था भए पनि पहिलो दिनमै मागभन्दा धेरै आवेदन परेकाले निष्कासन अवधि लम्बिने सम्भावना छैन। ग्लोबल आइएमई क्यापिटल लिमिटेड यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ। सोमवार निष्कासन सुरु भएको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन पर्न पुगेको थियो। त्यसपछि दिनभर लगानीकर्ताको उत्साह उस्तै देखिएको थियो। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो शेयरमार्फत सि–आस्बा प्रणालीद्वारा स्वीकार गरिएको हो।

रिलायन्स स्पिनिङ मिल्स तीन दशक अगाडि स्थापना भएको उद्योग हो। कम्पनीप्रति लगानीकर्ताको ठूलो आकर्षण देखिनुको कारण यसको विश्वासिलो इतिहास, बलियो वित्तीय स्थिति र निरन्तर लाभदायी व्यापारिक यात्रा रहेको बताइएको छ। कम्पनी नेपालको प्रमुख धागो उत्पादक उद्योग हो, जसले ७० देखि ७५ प्रतिशत उत्पादन भारत, टर्की, भियतनाम, बेलायतलगायत देशहरूमा निर्यात गर्दै आएको छ। वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुने गरेको छ। कम्पनीको मुख्य उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ।

कम्पनीका संस्थापक लगानीकर्ता पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल हुन्। पवनकुमार गोल्याण ग्रुपका अध्यक्ष तथा अक्षय कम्पनीका प्रबन्ध निर्देशक हुन्। हाल अक्षय नेतृत्वमा रहेको कम्पनीले अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान बनाएको छ। राष्ट्रिय अर्थतन्त्रमा योगदानका लागि नेपाल सरकारले गत असारमा अक्षयलाई महत्त्वपूर्ण वर्ष व्यक्ति (CIP) सम्मानसमेत प्रदान गरेको थियो।

नेपालमा धेरै कम्पनीहरूले स्थापना भएलगत्तै आईपीओ निकालेर लाभ उठाउने प्रवृत्ति बढ्दै गएको बेला रिलायन्सको संरचना फरक देखिन्छ। कम्पनीको अधिकृत पूँजी २ अर्ब ६० करोड, जारी पूँजी १ अर्ब ९० करोड र चुक्ता पूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ। यसमध्ये यसपटक केवल १० प्रतिशत शेयर मात्र निष्कासन गरिएको हो। निष्कासित शेयरमध्ये करिब ४ प्रतिशत संस्थागत लगानीकर्ता र ६ प्रतिशत सर्वसाधारण (वैदेशिक रोजगारीमा गएकासहित) का लागि छुट्याइएको छ। यसले कम्पनीका संस्थापकहरूले हात झिक्न खोजेको नभई सर्वसाधारण लगानीकर्तासँगै अघि बढ्न चाहेको संकेत गर्छ।

रिलायन्सको आईपीओलाई लगानीकर्ताले उत्साहसाथ स्वागत गर्नुमा यसको वित्तीय स्थिति महत्वपूर्ण कारण मानिन्छ। पछिल्लो पाँच वर्षको वित्तीय विवरण विश्लेषण गर्दा कम्पनीले स्थिर र बलियो प्रगति गरेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब २० करोड ६० लाख आम्दानी रहेकोमा २०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख पुगेको छ। सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल जगेडा कोष ५ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। मूल्यांकन स्थिर गरिंदाँदेखि १८ महिनाभित्र कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ जगेडामा थप गरेको छ। पुनर्मूल्यांकनसहित प्रतिशेयर नेटवर्थ ४११ रुपैयाँ ११ पैसा रहेको छ। अहिले निष्कासन भइरहेको आईपीओ मूल्यले यो सबै वृद्धि समेटेको छैन। अदालतको आदेशअनुसार पुरानै प्रक्रिया अनुसरण गर्दा लगानीकर्ताले अझै सस्तो मूल्यमा कम्पनीको शेयर पाउने अवस्था बनेको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउँदै ८४४ प्रतिशत नाफा वृद्धि गरेको छ। प्रतिशेयर आम्दानी पनि सोही अनुपातमा बढेको छ। यसको अर्थ लगानीकर्ताले तीव्र रूपमा नाफा बढिरहेको कम्पनीको शेयर पुरानै मूल्यमा पाउनेछन्। २०८० माघमा संस्थागत लगानीकर्तालाई अधिकतम ९१२ रुपैयाँमा शेयर बिक्री भइसकेको थियो। सर्वसाधारणका लागि १० प्रतिशत छुट दिएर ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो। संस्थागत लगानीकर्ताले पहिले नै खरीद गरिसकेको शेयरप्रति बजारको उत्साह हेर्दा सोमवारदेखि खुलेको आईपीओमा सर्वसाधारणको ठूलो आकर्षण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *