अफगानिस्तानबाट ८३३ जना नेपालीको उद्धार
काठमाडौँ – अफगानिस्तानबाट ८ सय ३३ जनाको उद्धार गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार हिजो मंगलबार थप ५ जनाको उद्धार भएसँगै जम्मा ८ सय ३३ जनाको उद्धार भएको हो । काबुलमा बाँकी रहेका नेपालीको उद्धारमा समन्वय भइरहेको मन्त्रालयले जनाएको छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेको नेपालीको विभिन्न अन्तर्राष्ट्रिय मिसनहरूसँग समन्वय गरेर सरकारले उद्धार गरिरहेको छ । काबुलमा रहेको अमेरिकी मिसनमा काम गर्ने नेपालीहरूलाई अमेरिकी मिसनले नै स्वदेश फर्काएको छ । अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिकको उद्धार गरिसकेको जनाएको छ भने अमेरिकी सेनाले पूर्ण रूपमा अफगानिस्तानबाट फिर्ता भइसकेका छन् ।
अफगानिस्तानमा बाँकी रहेको सबै नेपालीको उद्धारका लागि छलफल र समन्वय तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
‘अहिले त्यहाँ बाँकी रहनुभएकाहरु सुरक्षित स्थानमा हुनुहुन्छ र सुरक्षित हुनुहुन्छ, उहाँहरूको उद्धारका लागि सरकारले पहल गरिरहेको छ,’ प्रवक्ता लम्सालले भन्नुभयो,‘हामी छिट्टै उहाँहरूको उद्धारका लागि प्रबन्ध मिलाउँछौँ ।’
काबुल विमानस्थलमा हमला भएपछि परिवारहरू चिन्तामा छन् । अहिले पनि सरकारले त्यहाँ रहेका र सरकारको सम्पर्कमा नआएकाहरूलाई जतिसक्दो छिटो सम्पर्कमा आउन भनिरहेको छ ।
सम्बन्धित खबर
ह्वातै बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?
२७ मंसिर २०८२, शुक्रबार
बीमा कम्पनीको सहभागितामा एक खर्बको वैकल्पिक विकास वित्त कोष बनाउँदै सरकार
२७ मंसिर २०८२, शुक्रबार
अफगानिस्तानद्वारा एसियामा मानवीय सहयोग प्रवाह गर्ने अमेरिकी कदमको स्वागत
२७ मंसिर २०८२, शुक्रबार
