एप्पलले सार्वजनिक गर्यो आइफोन १३
काठमाडौं– एप्पलले आइफोन १३ सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी आइफोन १३ सँगै आइफोन मिनी सार्वजनिक गरेको हो। आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले रहेको छ भने मिनी ५.४ इन्चको रहेको छ।
आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ।
आइफोन १२ को तुलनामा आइफोन १३मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।
आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ।
एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन्। क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ।
आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।