गौतमश्री सहकारी ठगी प्रकरण : आइतबार मात्रै एक हजार बढीले दिए उजुरी
काठमाडौंस्थित गौतमश्री बहुउदेशीय सहकारीका सञ्चालक यतिबेला बचकर्ताको रकम फिर्ता नगरी फरार भएका छन् । पैसा लिएर कार्यालय नै बन्द गरी फरार भएपछि पीडितहरु सहकारी विभागमा पुगेका छन् ।
यता सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको छ । सहकारीका बचतकर्ताको रकम फिर्ता नगरी सहकारीको अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्चालक व्यवस्थापक फरार भएका हुन् ।
सञ्चालक नै फरार भएपछि बचतकर्ताहरु विभागमा आएको विभागका उप–रजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्यायले जानकारी दिनुभयो । सहकारीले २५ हजारभन्दा बढी बचतकर्ताबाट बचत रकम संकलन गरेको बताइएको छ । सहकारीको कार्यालय रहेको कुलेश्वरस्थित भवनमा एभरेष्ट बैंकले सूचना टाँस गरेको छ ।
२५ हजार बचतकर्ताको ७ अर्ब जोखिममा
गौतमश्री सहकारीमा करिब २५ हजार बचतकर्ता रहेका छन् । आइतबार भारी वर्षाको बाबजुद सहकारी सञ्चालक र व्यवस्थापकविरुद्ध उजुरी गर्न एक हजार भन्दा धेरै मानिस बानेश्वरस्थित सहकारी विभागको कार्यालय पुगेका थिए ।
एक हजार ७५ जनाको उजुरी दर्ता भएको छ, अरुलाई सोमबार कार्यालय समयमा आउन भनिएको छ । गौतमश्री सहकारी पीडितहरुले संघर्ष समिति समेत गठन गरेका छन् । सहकारीहरुको नियमन गर्ने जिम्मेवारी पाएको सहकारी विभाग भने गौतमश्रीका सञ्चालक तथा व्यवस्थापक फरार भइसक्दा समेत बेखबर छ । सहकारी बन्द भएपछि वचतकर्ता शुक्रबार नै सहकारी विभाग, बानेश्वर पुगेका थिए ।
विभागका सूचना अधिकारी टोलराज उपाध्याय विभागले थप जानकारी लिँदा सञ्चालक सहकारी बन्द गरेर भागेको पाइएको बताउनुभयो । उहाँका अनुसार अहिले विभागले सहकारी पीडितसँग छलफल गरेर उजुरी लिन थालेको छ ।
साथै सहकारीको चल अचल सम्पत्तिको सुरक्षा गर्न र विभागको अनुमति बिना नखोल्न प्रहरी प्रधान कार्यलयलाई शुक्रबार पत्राचार गरेको छ । आइतबार विभागमा एक हजार ७५ जनाले उजुरी दिएको उहाँले बताउनुभयो ।
सहकारीका एक कर्मचारी विभागको सम्पर्कमा आएका छन, जसलाई हिसाब–किताबसहित विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ । विभागका अर्का एक अधिकारीले करिब ७ अर्ब बराबरको दायित्व निक्षेपकर्ताबाट लिएको र करिब ५ अर्ब सम्पत्ति सहकारीको विवरणमा देखिएका प्रारम्भिक सूचना आएको बताउनुभयो । मुद्दती निक्षेपमा १७ प्रतिशतसम्म ब्याज दिएको रसिदसहित बचतकर्ता विभागमा पुगेका छन् ।