सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं, भदौ ३०, २०८२ – सागर डिष्टिलरी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ। कम्पनीले रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयरमार्फत कुल रु. ११ करोड ९० लाख ६४ हजार बराबरको पुँजी संकलन गर्न लागेको हो।
यसअघि भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी भए पनि देशको प्रतिकूल परिस्थितिका कारण प्रक्रिया स्थगित भएको थियो। अहिले पुनः निष्कासन खुला गर्दै कम्पनीले लगानीकर्तालाई न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरेको छ।
आईपीओमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीका लागि ४३ हजार ५६० कित्ता छुट्टाइएको छ। बाँकी सेयर सर्वसाधारणका लागि उपलब्ध हुनेछ। आवेदन नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट दिन सकिनेछ। साथै, लगानीकर्ताले अनलाइन प्लेटफर्म मेरोसेयर मार्फत पनि सहज रूपमा आवेदन दिन सक्नेछन्।
कम्पनीले जनाएको अनुसार, यदि माग धेरै भएमा आईपीओ छिटोमा भदौ २४ गते नै बन्द हुनेछ, अन्यथा ढिलोमा असोज ३ गतेसम्म आवेदन खुला रहनेछ। बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई दिइएको छ।
यसअघि सागर डिष्टिलरीले वैदेशिक रोजगारमा रहेका नेपाली कामदारका लागि साउन २८ देखि भदौ १ गतेसम्म पहिलो चरणको आईपीओ जारी गरिसकेको थियो, जसको बाँडफाँड सम्पन्न भइसकेको छ।
यस आईपीओलाई बजारले उत्साहजनक प्रतिक्रिया दिने अपेक्षा गरिएको छ।