कोशीमा चक्रवातको प्रभाव पर्ने सम्भावना, धनकुटा प्रशासनले जारी गर्‍यो सतर्कता

Heading1 BusinessSarokar | ८ माघ २०८२, बुधबार

बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बनेपछि कोशी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले जारी गरेको सूचनाअनुसार कात्तिक १२ देखि १४ गतेसम्म चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले जारी गरेका विशेष बुलेटिनका आधारमा सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको प्रशासकीय अधिकृत रामजी पौडेलले जानकारी दिए।

सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने तथा मानवीय र भौतिक क्षति हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रशासनले कात्तिक १२ गते बिहीबारदेखि धानबाली काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्य नगर्न र नगराउन अनुरोध गरेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्यटकलाई नजान, जोखिमयुक्त क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिएको छ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि प्रशासनले अनुरोध गरेको छ। वर्षाका बेला जोखिमयुक्त सडकमा सवारीसाधन नचलाउन र मौसम तथा परिस्थितिको अवस्था हेरेर मात्रै यातायात सञ्चालन गर्न आग्रह गरिएको पौडेलले बताए।

सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा सरोकारवाला निकायलाई सर्वसाधारणलाई जोखिमबारे जानकारी गराउन र विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। पूर्वसूचना तथा चेतावनी जारी भएका जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नसमेत प्रशासनले आग्रह गरेको छ।

यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान तथा चेतावनीको पालना गर्न प्रशासनले अनुरोध गरेको छ।

विपद्का घटना भएमा तत्काल सम्बन्धित निकायमा सम्पर्क गरी जानकारी गराउनसमेत आग्रह गरिएको छ। सम्भावित विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी अपनाउन र आधिकारिक सूचनाको पालना गर्न प्रशासनले सबैमा अनुरोध गरेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp