सुदूरपश्चिममा आज ‘बूढी पोल्ने’ पर्व मनाइँदै
डोटी- आज असोज १ गते सङ्क्रान्तिका दिन सुदूरपश्चिम प्रदेशमा ‘बूढी पोल्ने’ पर्व धुमधामका साथ मनाइँदैछ। हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ।
राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रूपमा यो पर्व प्रत्येक असोज सङ्क्रान्तिका दिनमा मनाइने चलनअनुसार यहाँ धुमधामका साथ मनाइने गरिएको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका कमलसिंह विकले बताए। उनले भने, “मानवलाई दुःख दिने पुतनालाई भगवान् श्रीकृष्णले मारेको दिनको सम्झनामा आज यहाँ बूढी पोल्ने पर्व निकै रमाइलोसँग मनाइँदै आएको छ।”
सुदूरपश्चिममा भाद्र सङ्क्रान्ति अर्थात् भदौ १ गतेका दिन बीच बाटामा गाडिएको सल्ला, बाँझ, निगालो आदिका हाङ्गाबिङ्गा काटेर पुतना बूढी अर्थात् राक्षस पुतनाको प्रतीक बनाइएको हुन्छ। उक्त प्रतीकलाई आज गाउँका सबै मिलेर जलाउने अर्थात् बन्दुनी जलाउने भनिने गरेको अर्का स्थानीयवासी दलबहादुर साउदले जानकारी दिए।
उनका अनुसार बन्दुनी जलाउने ठाउँमा आ–आफ्नो बारीमा फलेका काँक्रा लगेर खुशीयालीका रूपमा खाने, लुतो फाल्ने प्रचलन रहेको छ। यसैगरी उक्त बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ। आजको दिनलाई सुदूरपश्चिममा बन्दुनी सङ्क्रान्ति पनि भन्ने चलन रहेको बूढापाका बताउँछन्।
परम्परागत किंवदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षस प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शवदहन गरेको कथन रहेको शिखर नगरपालिका–१ का पण्डित गुणकर जोशीले बताए।
सम्बन्धित खबर
जलविद्युत् आयोजनाहरु निर्माणपछि औद्योगिकीकरणतर्फ फड्को मार्दै इलाम
१९ मंसिर २०८२, बिहीबार
रश्मिलाज् फेसियल हाउसले ल्यायो दशै तिहार अफर , ५० % सम्म छुटको
१९ मंसिर २०८२, बिहीबार
कुन देशको पैसा साट्दा कति पाइन्छ ? यस्तो छ विनिमय दर
१९ मंसिर २०८२, बिहीबार
