काठमाडौं – बीमा कम्पनीहरुले सेयर बजारमा करिब साढे १४ अर्ब लगानी गरेका छन् । गत आर्थिक वर्षमा जीवन र निर्जीवन बीमा कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा १४ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ बढी लगानी गरेका हुन् ।
सोही दायरामा रहेर बीमा कम्पनीहरुले गत आवमा पब्लिक कम्पनीहरुको साधारण सेयरमा दोस्रो बजारमार्फत् लगानी गरेका हुन् ।
गत आवमा बीमा कम्पनीहरुले कुल ४ खर्ब ६ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ लगानी गरेका थिए । जसको ३.४८ प्रतिशत लगानीको हिस्सा सुचिकृत पब्लिक कम्पनीहरुको साधारण सेयरमा बीमा कम्पनीहरुले लगानी गरेका छन् ।
हाल पुनर्बीमा कम्पनीसहित १९ जीवन र २० वटा निर्जीवन गरी ४० वटा बीमा कम्पनीहरुले बीमा व्यवसाय गरिरहेका छन् । बीमा समितिद्वारा प्राप्त तथ्यांकअनुसार सो अवधिमा निर्जीवन बीमा कम्पनीहरुले गत आवको असार मसान्तसम्म २ अर्ब ५० करोड ९९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । सो अवधिमा जीवन बीमा कम्पनीहरुले भने ११ अर्ब ९३ करोड ६८ लाख रुपैयाँ सेयर बजारमार्फत् सुचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा लगानी गरका छन् ।
समितिद्वारा प्राप्त तथ्यांकमा मेट लाइफ, एभरेष्ट इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स र दि ओरिएण्टल इन्स्योरेन्सको विवरण समावेश गरिएको छैन ।
जीवन बीमा कम्पनीहरुको सेयरमा लगानी, कुन को कति ?
सञ्चालनमा रहेका १९ बीमा कम्पनीहरुमध्ये गत आवमा सबैभन्दा बढी सेयर बजारमा लगानी नेपाल लाइफले र सबैभन्दा थोरै प्राइम लाइफले गरेका छन् । सो अवधिमा नेपाल लाईफले ३ अर्ब ४२ करोड ५१ लाख रुपैयाँ सेयर बजारमा लगानी गर्दा प्राइम लाइफले ९ लाख १५ हजार रुपैयाँमात्र सेयर बजारमा लगानी गरेको छ ।
सेयर बजारमा गत बर्ष सबैभन्दा बढी लगानी गर्ने सुचीको दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनी र तेस्रो नम्बरमा एशियन लाइफ रहेको छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आवमा २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ र एशियन लाइफले १ अर्ब ५८ करोड ७० लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् ।
यस बाहेकका अन्य कम्पनीहरुमा ३ वटा कम्पनीले १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म, ६ वटा कम्पनीले १० करोड रुपैयाँमाथि ३५ करोड रुपैयाँसम्म, ५ वटा कम्पनीले १ करोडदेखि ९ करोड रुपैयाँसम्म र २ वटाले १ करोड रुपैयाँभन्दा कम सेयर बजारमा लगानी गरेका छन् ।

कुन निर्जीवन बीमा कम्पनीको सेयरमा कति लगानी ?
गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ११ लाख रुपैयाँदेखि ८६ करोड रुपैयाँसम्म सेयर बजारमा लगानी गरेका छन् । जसमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले र सबैभन्दा थोरै सानिमा जनरल इन्स्योरेन्सले गरेको हो ।
गत आवको असार मसान्तसम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीले ८५ करोड ९५ लाख रुपैयाँ, दोस्रोमा शिखर इन्स्योरेन्सले ३७ करोड १९ लाख रुपैयाँ र तेस्रोमा प्रभु इन्स्योरेन्सले २६ करोड ६४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।
यसबाहेक ४ वटा कम्पनीले १० करोड रुपैयाँभन्दा बढी १६ करोड रुपैयाँसम्म, १० वटाले २ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्म र सानिमा जनरलले ११ लाख ९५ हजार रुपैयाँमात्र सेयर बजारमा लगानी गरेको छ ।
