सेयबजारमा सुधार, दोहोरो अंकले बढ्यो नेप्से

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- लगातार उच्च अंकले ओरालो लाग्दै आएको सेयरबजारमा आज सुधार आएको छ।

मंगलबार पुँजीबजार मापक परिसूचक (नेप्से) १३.८३ अंकले बढेको हो। सोमबार नेप्से ११४.०२ अंकले घटेको थियो। गत मंगलबारयता सेयरबजार लगातार घट्दै आएको थियो।

आज नेप्से १३.८३ अंकले बढेर २६९८.२५ विन्दुमा उक्लिएको छ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार नेप्से ०.५१ प्रतिशतले बढेको दिन आज कारोबार रकम भने घटेको छ। सोमबार आठ अर्ब ४९ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज घटेर सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। कूल १८५ वटा कम्पनीका एक करोड ५३ लाख छ हजार ६१ कित्ता सेयर ९५ हजार ६४६ पटक खरिद-बिक्री भएका थिए।

कारोबार भएकामध्ये १२२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५४ वटाको मूल्य नकारात्मक बनेको छ। बाँकी नौ कम्पनीको सूचक यथावत् रह्यो।

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.३६ अंकले बढेर ५०८.६३ विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ।

आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतले कमाएका छन्।

आज फाइनान्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापारबाहेक सबै उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp