भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ घटेर केही महीनायताकै न्यून विन्दुमा झरेको छ ।
शुक्रवार प्रतिगोटा बिट्क्वाइनको भाउ ४१ हजारभन्दा तल आएको छ । अमेरिकाले मौद्रिक नीति कसिलो बनाउँदै लैजाने र विश्वको दोस्रो ठूलो बिट्क्वाइन माइनिङ हब काजगस्तानमा इन्टरनेट बन्द भएर उत्पन्न अनिश्चय बीच शुक्रवार बिट्क्वाइनको भाउ घटेको हो ।
शुक्रवार प्रतिगोटा बिट्क्वाइनको भाउ ४० हजार ७४९ डलर ९ सेन्टमा आएको थियो । यो सेप्टेम्बर २९ यताकै न्यून भएको क्वाइन मेट्रिक्सको तथ्यांकले देखाएको छ । यो हप्ताको शुरुमा यसको भाउ ४७ हजार डलरमाथि थियो ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको माइनियूट्सले ब्याजदर बढ्न सक्ने देखाएपछि भाउ घटेको हो । काजगस्तानको राजनीतिक घटनाक्रमले पनि बिट्क्वाइन नेटवर्कको क्षमताप्रति चिन्ता बढाएको छ । शुक्रवार अन्य क्रिप्टोकरेन्सीको भाउमा पनि कमी आएको थियो । एजेन्सी