धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पुरानै कार्यविधि लागू
काठमाडौं । नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि अन्ततः पुरानै कार्यविधि लागू हुने भएको छ । अध्यक्ष नियुक्तिका लागि बनेको सिफारिस समितिले दोस्रो पटक सार्वजनिक गरेको आवेदकका लागि पुरानै कार्यविधि लागू गर्ने भएको छ । पहिलो पटक सार्वजनिक गरेको कार्यविधि संशोधन गरेर दोस्रोे पटक माग गरिएका आवेदकका लागि भने पहिलो कार्यविधिमा नै संशोधन गरेर सार्वजनिक गरेपछि विरोध भएपछि समितिले पुरानै कार्यविधि लागू हुने भएको हो ।
अर्थमन्त्रालय संस्थान समन्वय महाशाखाका अधिकारी रमेश केसीले पहिलो पटक सार्वजनिक भएको कार्यविधि नै लागू गर्ने निर्णय भएको बताए । उनले भने, ‘बोर्ड अध्यक्ष नियुक्तीका लागि विचमा संशोधित कार्यविधि हटाइएपछि अब पुरानै कार्यविधि नै लागू गरिने निर्णय भएको छ ।’
सिफारिस समितिले दोस्रो पटक खुलाईएको विज्ञापनको समय सकिने एक दिनअघि पुष २८ गते पहिलो पटकको सूचनामा भएको कार्यविधि परिवर्तन गरेको थियो । जसमा आवेदन दिएका १५ जनामध्ये २ जनालाई मात्र फिट हुने कार्यविधि बनेको थियो । आर्थिक न्युज डटकमले ‘धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको कार्यविधिमा पुनः झेल, दुई जनालाई मात्र फिट हुने बनाईयो’ शिर्षकमा समाचार प्रकाशित गरेपछि रातारात अर्थ मन्त्रालयले उक्त संशोधित कार्यविधि हटाएको थियो ।
अर्थ मन्त्रालयले हटायो धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति कार्यविधि
मन्त्रालयले उक्त कार्यविधि हटाएसंगै अब नियुक्ति प्रक्रिया कसरी हुन्छ भन्ने अन्योल भएको छ । तर, अर्थ मन्त्रालयको संस्थान समन्वय शाखा अन्तगर्तको वित्त व्यवस्था प्रमुख रमेश केसी भने अब फेरि पुरानै कार्यविधि अनुसार अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढ्ने बताउँछन् । ‘कार्यविधि परिवर्तन गरिएपछि अर्थ मन्त्रालयमा व्यापक छलफल भएको थियो । कार्यविधि संशोधन भएको विषयमा धेरैले विरोध गरे । जसले गर्दा उक्त संशोधित कार्यविधि हटाईएको हो’ प्रमुख केसीले भने, ‘अब पुरानै कार्यविधि अनुसार नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अगाडी बढ्छ ।’
धितोपत्र बोर्डको अध्यक्षका लागि दोस्रो पटक खुलेको विज्ञापनमा १५ जनाले आवेदन दिएका छन् । जसमा रमेश अधिकारी, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र मुक्ति अर्याल रहेका छन् । यी चार जनाले पहिलो पटक खुलेको विज्ञापनमा आवेदन दिएका थिएनन् । यससँगै पहिलो पटकको आवेदनमा पनि परेकाहरुमा डा. नवराज अधिकारी, डा.जिवन अम्गाई, डा. गोपालप्रसाद भट्ट, डा.केशवप्रसाद श्रेष्ठ, चिरञ्जिवी चापागाई, अम्बिका शर्मा लामिछाने, रमेश कुमार हमाल, सिताराम थपलिया, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल रहेका छन् ।
अध्यक्ष बन्नका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापनमा काम गरेको हुनुपर्ने छ । त्यस्तै, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन या कानून क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको हुनुपर्ने छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको र आवेदक ३० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनपर्नेछ ।