Banking Khabar
Heading1

सात महिनामा स्वदेशी तथा विदेशी लगानीका डेढ खर्बको प्रतिबद्धता

March 20, 2023
सेयर:

चालु आर्थिक वर्षको सात महिनामा उद्योगका लागि एक खर्ब बढीको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म स्वदेशी तथा विदेशी लगानीका १८३ उद्योगका लागि १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार खुल्ने तयारीमा रहेका यी उद्योगहरूले १२ हजार ७४८ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता गरेका छन् । यस अवधिमा दर्ता भएका उद्योगका साना उद्योग ८३ वटा, मझौला उद्योग ५३ वटा र ठूला उद्योग ४७ वटा रहेका छन् ।

यस अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता निर्माण क्षेत्रका लागि आएको विभागले जनाएको छ । विभागका अनुसार फागुन मसान्तसम्म निर्माण क्षेत्रका लागि ६९ दशमलव ३८ प्रतिशत, पर्यटन क्षेत्रका लागि ३७ दशमलव २० प्रतिशत, जलविद्युत क्षेत्रका लागि ३६ दशमलव २० प्रतिशत, सेवा मूलक क्षेत्रका लागि ३० दशमलव १६ प्रतिशत, प्राविधिक क्षेत्रका लागि ६ दशमलव ३ प्रतिशत, कृषि क्षेत्रका लागि ३ दशमलव २ प्रतिशत र खनिज क्षेत्रका लागि २ दशमलव १ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार फागुनसम्म भएका औद्योगिक सम्पत्ति सम्बन्धी विवरणमा प्याटेन्ट दर्ता सङ्ख्या ६, डिजाइन दर्ता सङ्ख्या ११, ट्रेडमार्क दर्ता सङ्ख्या १ हजार ७८४ र ट्रेडमार्क सम्बन्धी मुद्दा कारबाही सङ्ख्या ६८ रहेको छ ।

फागुनमा मात्रै सात अर्ब ३० करोड लगानी प्रस्ताव

उद्योग विभागका अनुसार फागुन महिनामा मात्रै उद्योग दर्ताका लागि ७ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा १९ वटा स्वदेशी तथा विदेशी लगानीका १९ उद्योगका लागि सो बराबरको लगानी प्रतिबद्धता आएको हो । उक्त उद्योगमा १ हजार ७११ जनालाई रोजगारी प्राप्त हुने प्रस्ताव गरिएको छ ।

फागुन महिनामा दर्ता भएका उद्योगमा साना ९ वटा, मझौला ७ वटा र ठूला ३ वटा रहेका छन् । यस अवधिमा निर्माण क्षेत्रका लागि सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार फागुन मसान्तसम्म निर्माण क्षेत्रका लागि ९ दशमलव ४७ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।

त्यस्तै, पर्यटन क्षेत्रका लागि ३ दशमलव १६ प्रतिशत, जलविद्युत क्षेत्रका लागि ६ दशमलव ३२ प्रतिशत, सेवा मूलक क्षेत्रका लागि १ दशमलव ५ प्रतिशत र प्राविधिक, कृषि र खनिज क्षेत्रका लागि लगानी प्रतिबद्धता आएको हो ।