सिटि होटलको आईपीओ आजदेखि विक्री खुला, सर्वसाधारणलाई कहिले?

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

सिटि होटल लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज अर्थात् चैत २१ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि छुट्याइएको छ भने ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आगामी चैत २१ गतेदेखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् भने सर्वसाधारण लगानीकर्ताले २०८० वैशाख २५ गतेदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्।

सो अवधिसम्ममा पनि पूर्ण आवेदन नपरेमा भने निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

पहिलो चरणको आईपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले उक्त कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत चैत ५ गते उक्त कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको थियो । हाल धितोपत्र दोस्रो बजारमा होटल तथा पर्यटन क्षेत्रका चार कम्पनी सूचीकृत छन् ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp