नबिल बैंकको ५ अर्ब नाफा, खुद ब्याज घट्दा पनि मुनाफा बढाउन सफल

Uncategorized BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै सबै वाणिज्य बैंकहरुमध्ये उच्चतम नाफा कमाउन सफल भएको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस अवधिमा बैंकको खुद नाफा ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ थियो।

खासगरी खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घट्दा पनि, इम्पेरमेन्ट चार्ज उल्लेखनीय रूपमा घटेको कारणले बैंकको नाफा वृद्धि भएको हो। चालु वर्षको पहिलो ९ महिनामा इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा सीमित रहन पुगेको छ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशतले घटेको भए पनि, सञ्चालन मुनाफा भने १४.०३ प्रतिशतले वृद्धि भएको छ। फि तथा कमिशन आम्दानी पनि २.२७ प्रतिशतले बढेर बैंकको आय वृद्धि गर्न मद्दत पुर्‍याएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेखनीय रूपमा बढेको छ। गत वर्षको तुलनामा १ रुपैयाँ ६५ पैसा बढ्दै यस त्रैमासमा EPS २४ रुपैयाँ ८९ पैसा पुगेको छ।

बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा कायम छ। मूल्य आम्दानी अनुपात (P/E ratio) १९.५६ गुणामा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा छ।

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ, भने जगेडा कोषमा ३४ अर्ब १८ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्ममा बैंकले ५ खर्ब २ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४ खर्ब १ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

ब्याज आम्दानीमा सामान्य गिरावट देखिए पनि लागत व्यवस्थापनमा दक्षता, इम्पेरमेन्ट चार्जमा गिरावट र गैरब्याज आम्दानीको सुधारले गर्दा नबिल बैंकले आफ्नो मुनाफा कायम राख्न सफल भएको देखिन्छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp