५ भदौ, काठमाडौं । अमेरिकाले क्युबामाथि थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाली सरकारका नौवटा सरकारी संस्था तथा तीन उच्च अधिकारीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धमा क्युबाको निर्माण मन्त्रालयसहित खानी, धातु, व्यापार तथा निर्माण क्षेत्रमा सञ्चालनमा रहेका नौवटा सरकारी संस्था परेका छन् । यस्तै, क्युबाली इन्स्टिच्युट अफ फ्रेन्डसिप विथ द पिपल्स (आईक्याप) का तीन जना वरिष्ठ अधिकारीमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धमा आईक्यापका अध्यक्ष फर्नान्डो गोन्जालेज योर्त, प्रथम उपाध्यक्ष नोएमी रामोना राबाजा फर्नान्डेज र उत्तर अमेरिकाका लागि निर्देशक लेइमा मार्टिनेज फ्रेरे परेका छन् । गोन्जालेज अमेरिकी कारागारमा जासुसी अभियोगमा सजाय भोगिसकेका ‘क्युबाली फाइभ’ समूहका सदस्यसमेत हुन् ।
रुबियोले क्युबाली सरकारले आईक्यापमार्फत अमेरिकी समाजमा प्रभाव विस्तार गर्ने तथा आफ्नो राजनीतिक गतिविधि अघि बढाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले क्युबाली शासनले दमनकारी संरचनालाई आर्थिक सहयोग गर्ने वा अमेरिका विरोधी गतिविधि अघि बढाउने प्रयासलाई ट्रम्प प्रशासनले सहन नगर्ने बताएका छन् ।
अमेरिकाले प्रतिबन्ध लगाएका संस्थामध्ये निकेल उत्पादन गर्ने कम्पनी, धातु आयात–निर्यात कम्पनी, खानी तथा निर्माण क्षेत्रसँग सम्बन्धित सरकारी संस्था छन् । प्रतिबन्धपछि ती संस्थासँग कारोबार गर्ने विदेशी व्यक्ति तथा कम्पनीसमेत अमेरिकी प्रतिबन्धको जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ ।
क्युबाको आपत्ति
क्युबाले भने अमेरिकी प्रतिबन्धको विरोध गरेको छ । क्युबाली विदेशमन्त्री ब्रुनो रोड्रिगेजले नयाँ प्रतिबन्धले आफ्नो देशको अर्थतन्त्रमा थप क्षति पुग्ने र आवश्यक वस्तु तथा सेवाको आपूर्तिमा समस्या बढ्ने बताएका छन् । उनले अमेरिकी कदमलाई क्युबाको अर्थतन्त्र कमजोर बनाउने उद्देश्यले गरिएको दबाबको निरन्तरता भएको बताएका छन् ।
अमेरिकी प्रतिबन्धको दबाबबीच क्युबाको अर्थतन्त्र र ऊर्जा क्षेत्र गम्भीर संकटमा छन् । पुरानो विद्युत् पूर्वाधार र इन्धन आपूर्तिमा आएको समस्याका कारण पछिल्ला महिनामा लामो समयसम्म विद्युत् कटौती हुने गरेको छ । अगस्टको सुरुआतमा क्युबामा देशव्यापी विद्युत् अवरोधसमेत भएको थियो ।
अमेरिकाले सन् २०२६ को सुरुदेखि क्युबामाथि आर्थिक तथा ऊर्जा दबाब थप कडा बनाउँदै आएको छ । नयाँ प्रतिबन्ध पनि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको क्युबाली सरकारमाथि राजनीतिक तथा आर्थिक दबाब बढाउने व्यापक रणनीतिकै हिस्सा हो ।