Banking Khabar
Heading3

साउनमै ४० लाख ३६ हजार सिलिन्डर ग्यास बिक्री, ५ महिनायताकै धेरै

August 20, 2026
सेयर:

काठमाडौं । नेपाल आयल निगमले साउन महिनामा अहिलेसम्मकै धेरै एलपी ग्यास सिलिन्डर वितरण भएको जनाएको छ । निगमका अनुसार साउनमा ४० लाख ३६ हजार ३६४ वटा ग्यास सिलिन्डर बिक्री वितरण भएको हो ।

निगमले बुधबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको तथ्यांकअनुसार साउनमा भएको ग्यास वितरण अघिल्लो महिना असारको तुलनामा करिब ९ लाख सिलिन्डरले बढी हो । साउनमा मात्रै ५७ हजार ३१६ दशमलव ३८ मेट्रिक टन एलपी ग्यास आयात गरी बिक्री वितरण गरिएको निगमले जनाएको छ ।

तथ्यांकअनुसार गत चैतमा २७ लाख ३२ हजारभन्दा बढी सिलिन्डर वितरण भएको थियो । त्यसपछि वैशाखमा २२ लाख ५७ हजार र जेठमा २३ लाख १२ हजार सिलिन्डर वितरण भएको थियो ।

असारदेखि भने ग्यासको आयात तथा बिक्री वितरणमा उल्लेख्य सुधार देखिएको छ । असारमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर वितरण भएकोमा साउनमा यो संख्या बढेर ४० लाख ३६ हजार ३६४ पुगेको हो ।

निगमले ग्यासको आपूर्ति तथा बिक्री वितरणमा उल्लेख्य वृद्धि भइरहेको र भदौमा समेत आयात नियमित रहेकाले बजारमा एलपी ग्यासको अभाव नहुने स्पष्ट पारेको छ ।

आपूर्ति व्यवस्था सहज र निरन्तर रहने भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ । आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गर्दै निगमले बजारमा ग्यासको वितरण सहज र पारदर्शी बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।