घरजग्गा बजारमा बदलिँदो रुचि : जग्गाभन्दा तयार घर रोज्दै ग्राहक
काठमाडौँ उपत्यकामा घर किन्ने योजनामा रहेका ग्राहकको आकर्षण जग्गाभन्दा बनिबनाउ घर तथा अपार्टमेन्टतर्फ बढ्न थालेको पाइएको छ ।
काठमाडौंमा आयोजित नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा आएका ग्राहकको रुचि हेर्दा जग्गा किनेर आफैं घर निर्माण गर्नुभन्दा तयारी घर किनेर तत्काल बस्न चाहने ग्राहकको संख्या बढेको व्यवसायीहरूले बताएका छन् ।
जग्गा किनेपछि नक्सा पासदेखि निर्माण सामग्री, ठेकेदार तथा कामदार व्यवस्थापनसम्म आफैंले गर्नुपर्ने भएकाले समय र झन्झट दुवै बढी हुन्छ । त्यसैले आफ्नो आवश्यकता र बजेटअनुसारको तयारी घर पाएमा सीधै खरीद गरेर बस्ने उनको योजना छ ।
शनिवार सम्पन्न प्रदर्शनीमा सहभागी घरजग्गा व्यवसायीहरूले पनि घर तथा अपार्टमेन्ट खरीदमा आगन्तुकको चासो बढेको बताएका छन् । विगतमा जग्गा खरीदलाई समेत उत्तिकै प्राथमिकता दिने ग्राहकको तुलनामा यसपटक बनिबनाउ घर तथा अपार्टमेन्टप्रति चासो बढी देखिएको उनीहरूको भनाइ छ ।
उनका अनुसार तत्काल बस्न चाहने ग्राहकले हाउजिङ तथा अपार्टमेन्टमा बढी रुचि देखाएका छन् भने दीर्घकालीन लगानीका लागि जग्गा खोज्ने ग्राहक पनि उल्लेख्य छन् ।
घर निर्माणमा लाग्ने समय र व्यवस्थापनको झन्झटबाट बच्न चाहने ग्राहकका कारण ‘रेडी–टु–मुभ’ घरप्रति आकर्षण बढेको पाइएको छ
घर वा अपार्टमेन्ट छनोट गर्दा ग्राहकको पहिलो प्राथमिकता स्थान हुने गरेको छ । त्यसपछि मूल्य, सुविधा र वित्तीय व्यवस्थापनलाई आधार बनाएर सम्पत्ति छनोट गर्ने गरेका छन् । हाउजिङका लागि ग्राहक केही टाढासम्म जान तयार भए पनि अपार्टमेन्टका लागि भने शहरभित्रको नजिकको र प्राइम लोकेसनलाई बढी प्राथमिकता दिने गरेका छन् ।
व्यवसायीका अनुसार हाउजिङका लागि ग्राहक केही टाढासम्म जान तयार भए पनि अपार्टमेन्टमा भने शहरभित्रकै सुविधायुक्त र प्राइम लोकेसनलाई प्राथमिकता दिने गरेका छन् ।
ग्राहकको बदलिँदो रुचिका कारण घरजग्गा व्यवसायीले समेत परियोजनाको रणनीति पुनरवलोकन गर्न थालेका छन् । तुलनात्मक रूपमा कम ब्याजदरलाई घरजग्गा बजारका लागि सकारात्मक पक्षका रूपमा हेरिएको छ । लामो समयसम्म स्थिर ब्याजदर कायम भए घर खरीद गर्ने ग्राहकलाई कर्जा भुक्तानीको योजना बनाउन सहज हुने व्यवसायीहरूको भनाइ छ।
