असोज ८–१२ मा ठूलो वर्षाको जोखिम, किसान र सर्वसाधारणलाई सतर्क रहन आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म नेपालका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै किसान तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
उनका अनुसार विभिन्न मौसमी पूर्वानुमान मोडेलले पूर्वदेखि पश्चिम नेपालसम्मै उल्लेख्य वर्षा हुने संकेत गरेका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली नेपालतर्फ सर्ने अनुमान रहेकाले बिहीबार, शुक्रबार र शनिबार विशेष सतर्कता अपनाउनुपर्ने उनले बताएका छन्।
केही मौसमी मोडेलले चारदेखि पाँच दिनको अवधिमा करिब ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने प्रक्षेपण गरेका छन्। केही अनुमानमा धनगढी आसपास ६७१ मिलिमिटर र धनकुटा आसपास ६०४ मिलिमिटरसम्म वर्षा हुन सक्ने देखाइएको छ।
तर यी तथ्यांक मौसमी मोडेलमा आधारित अनुमान मात्र भएकाले सम्बन्धित क्षेत्रमा यति नै वर्षा हुने निश्चित प्रक्षेपणका रूपमा बुझ्न नहुने पोखरेलले स्पष्ट पारेका छन्।
उनका अनुसार मौसम प्रणालीमा हुने सामान्य परिवर्तनले पनि वर्षाको स्थान र परिमाणमा ठूलो फेरबदल ल्याउन सक्छ। लामो समयसम्म वर्षा भएमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आत्तिनुभन्दा पूर्वतयारीमा जुट्न उनले आग्रह गरेका छन्।
पोखरेलका अनुसार भारतको उत्तरपश्चिमी क्षेत्रमा मनसुन कमजोर हुँदै गएपछि त्यहाँबाट आउने सुख्खा हावाले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई नेपालतर्फ धकेल्ने अवस्था बन्न सक्ने देखिएको छ। यही कारण उक्त मौसमी प्रणालीले नेपालमा बढी वर्षा गराउन सक्ने उनको भनाइ छ।
यसैबीच मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले बंगालको खाडी र अण्डमान सागरको बीचमा तीव्र गतिमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले उक्त प्रणाली चक्रवातमा परिणत भएमा यसको नाम ‘अर्नब’ रहने र त्यसको प्रभाव असोज ८, ९ र १० गते नेपालमा देखिन सक्ने बताएका छन्। उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती दिन सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्नु उपयुक्त हुने सुझाव दिएका छन्।
यद्यपि नेपालमा हुने वर्षाको वास्तविक तीव्रता र प्रभावबारे अहिले नै निश्चित निष्कर्ष निकाल्न नसकिने उनले बताएका छन्।
उपाध्यायले यसअघि पनि शक्तिशाली चक्रवाती प्रणाली नेपाल आइपुग्दा कमजोर भएका उदाहरण रहेको उल्लेख गर्दै अहिलेको प्रणालीको प्रभावबारे थप अद्यावधिक आवश्यक रहेको बताएका छन्।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस अवधिमा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक तथा पछिल्ला मौसम पूर्वानुमानलाई प्राथमिकताका साथ पछ्याउन विज्ञहरूले आग्रह गरेका छन्।
