सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सञ्चालनको तयारी

Heading1 BusinessSarokar | ३ पुष २०८२, बुधबार

निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याउँदै मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने तयारी गरेको हो।

आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङभित्र सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भइसकेको छ। बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री आपूर्तिमा ढिलाइ हुँदा सवारी सञ्चालनको पूर्वनिर्धारित समय केही पर धकेलिएको उनले बताए।

‘अब एक–दुई दिनमै निर्माण सामग्री आएपछि टनेलभित्रको बाँकी काम अघि बढाउँछौं। मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्ने लक्ष्य छ,’ बास्तोलाले भने।

भोटेकोशी बाढीका कारण सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी सञ्चालनको तयारी प्रभावित भएको थियो। हाल सुरुङभित्र सडक पिच गर्ने काम सकिएर रङरोगन भइरहेको छ भने टेक्निकल भवनको फिनिसिङ पनि जारी छ।

लाइनिङ अर्थात् भुइँ तथा भित्ता ढलानसहितका सिभिल संरचनाको काम यसअघि नै सम्पन्न भइसकेको छ। अब इलेक्ट्रोमेकानिकलतर्फका काम मात्र बाँकी रहेको आयोजना प्रमुख बास्तोलाले बताए।

योजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर सौम्य आनन्दका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ६९ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ५५ प्रतिशत पुगेको छ।

मुख्य सुरुङ तथा बाइपास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भर्ट र सुरुङभित्रको प्रिमेन्टसम्बन्धी काम सम्पन्न भइसकेको उनले बताए। तीनवटा बाइपास पनि निर्माण गरिएको छ।

सुरुङभित्रको काम सम्पन्न भएपछि बाहिरी सडक क्षेत्रलाई सुरक्षित बनाउने काम अघि बढाइनेछ। सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल ब्यारेयर तथा स्लोप प्रोटेक्सनका काम गरिने आयोजना कार्यालयले जनाएको छ।

एक हजार १२६ मिटर लामो सुरुङमार्ग निर्माणका लागि २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो भने २०७९ सालदेखि निर्माण सुरु गरिएको हो। आयोजनाको निर्माण चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँमा गरिरहेको छ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्मको क्षेत्र अत्यधिक पहिरो जाने क्षेत्रका रूपमा चिनिन्छ। सुक्खायाममा समेत सुख्खा पहिरो र ढुंगा खस्ने समस्या रहेकाले राजमार्गलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो।

सरकारको आफ्नै स्रोतमा निर्माण भइरहेको सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा पहिरो तथा ढुंगा खस्ने जोखिमबाट यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यसबाट लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठान तथा गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp