आज ५९ जिल्लामा बाढीको जोखिम, नदी–खोलामा बहाव बढ्ने
८ असोज, काठमाडौं । देशका विभिन्न जिल्लामा वर्षा भइरहेकाले आज ५९ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान र दाङ तथा आसपासका क्षेत्रमा बहने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले ती क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर र ललितपुर भएर बहने साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।
यसैगरी मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालीकोट तथा आसपासका क्षेत्रमा पनि साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उल्लिखित जिल्लामा आकस्मिक बाढीको जोखिम मध्यमदेखि उच्च रहेकाले नदी, खोला तथा खोलानाला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। वर्षाका कारण नदी तथा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
