बीपी राजमार्ग खुल्यो, तत्काललाई साना सवारीसाधन मात्रै सञ्चालनमा
अविरल वर्षाका कारण ९ असोजदेखि बन्द रहेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गमा अस्थायी डाइभर्सन निर्माण गरी साना सवारीसाधन सञ्चालनमा ल्याइएको हो।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार रोशी खोलामा आएको बाढीले सडक बगाएको स्थानमा डाइभर्सन निर्माण गरेपछि यातायात सञ्चालन गर्न सकिएको हो।
बाढीले नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को घुमाउने तथा रोशी–११ र १२ को माम्ती क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाएको थियो। यस्तै, चौकीडाँडा, चारसयवेशी, गिम्दीवेशी र माम्ती क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालयका अनुसार चौकीडाँडामा खोलाबाट र खोलाभन्दा माथिबाट गरी दुई स्थानमा डाइभर्सन निर्माण गरिएको छ।
हाल साना सवारीसाधन सञ्चालनमा आए पनि ६ चक्के मालवाहक सवारीसाधन, बस तथा मिनीबस सञ्चालनका लागि केही घण्टा थप समय लाग्ने कार्यालयले जनाएको छ। दिउँसोदेखि सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
