२१ बुँदे सुधार योजनापछि पनि घट्यो सेयर बजार, नेप्से ४.८२ अंकले ओरालो

Heading2 BusinessSarokar | १० पुष २०८२, बुधबार

१४ असोज, काठमाडौं । सेयर बजार परिसूचक नेप्से घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ९ अंक घटेको नेप्से बुधबार थप ४.८२ अंकले घटेको हो ।

अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि सार्वजनिक गरेको २१ बुँदे कार्ययोजनाका साथै प्रतिनिधिसभाको अर्थ समितिले नयाँ धितोपत्र विधेयक ल्याउन सरकारलाई निर्देशन दिए पनि बजारमा त्यसको तत्काल सकारात्मक प्रभाव देखिएन ।

बुधबार नेप्से परिसूचक ४.८२ अंकले घटेर कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । मंगलबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम ४ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार कारोबार भएका कम्पनीमध्ये १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

बुधबार सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ ।

समूहगत परिसूचकमा बैंकिङ ५.९७, विकास बैंक २७.०७, वित्त ७.३७, होटल ३८.२०, लगानी ०.१८, जीवन बीमा ४२.०३, उत्पादनमूलक २६.५८, लघुवित्त १.७२, निर्जीवन बीमा १६.१२ र अन्य समूह ४.०६ अंकले घटेका छन् ।

यस्तै व्यापार समूह ३८, सामूहिक लगानी कोष ०.०५ र जलविद्युत् समूह ०.७० अंकले बढेका छन् ।

यसअघि अर्थ समितिले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री, व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन नयाँ धितोपत्रसम्बन्धी विधेयक तत्काल संसद्मा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp