दसैँको किनमेलमा महँगीको मार, न्यून आय भएका परिवारलाई चाडपर्व मनाउनै मुस्किल
काठमाडौं । दसैँ नजिकिँदै जाँदा काठमाडौं उपत्यकाका मुख्य बजारमा किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ । तर, खाद्यान्न, लत्ताकपडा, मासु तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि सीमित आम्दानी भएका परिवारलाई चाडपर्व मनाउन कठिन भएको छ ।
भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धारा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर र पुतलीसडकलगायतका बजारमा दसैँका लागि लत्ताकपडा तथा आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ ।
उपभोक्ताका अनुसार यस वर्ष अघिल्लो वर्षको तुलनामा लत्ताकपडासहित दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि चीनतर्फका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा सामानको आपूर्तिमा समस्या परेको र त्यसको असर बजार मूल्यमा देखिएको उनीहरूको अनुमान छ ।
काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले महँगी बढ्दा दसैँ मनाउनसमेत कठिन हुन थालेको बताए । उनका अनुसार जिरा मसिनो चामलको एक बोरामा ३०० रुपैयाँसम्म मूल्य बढेको छ भने खसीको मासुको मूल्य प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म बढेको छ ।
“न्यून आय हुनेका लागि त दसैँ मनाउन पनि मुस्किल हुने देखिएको छ,” उनले भने ।
तिनकुनेकी स्मिता खत्रीले पनि लत्ताकपडाको मूल्य बढेपछि आफ्ना तीन सन्तानका लागि नयाँ लुगा किन्न आर्थिक दबाब परेको बताइन् । सीमित आम्दानीका बाबजुद दसैँमा छोराछोरीलाई नयाँ लुगा किनिदिएको उनको भनाइ छ ।
“दसैँमा एकसरो लुगा त फेरिदिनुपर्यो नि,” उनले भनिन्, “सीमित आयस्रोत हुनेलाई दसैँ त दशाजस्तै हुने, नमनाएर पनि नहुने ।”
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले खाद्यान्न, लत्ताकपडा, ताजा तरकारी, फलफूल तथा मासुजन्य पदार्थको मूल्य बढेको बताए । उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले नियमित बजार अनुगमन गर्नुपर्ने र आपूर्ति शृङ्खला व्यवस्थित बनाउन आवश्यक हस्तक्षेप गर्नुपर्नेमा जोड दिए ।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका रसुवा र तातोपानी नाका अवरुद्ध हुँदा व्यापार तथा वस्तु आयात प्रभावित भएको बताए । उनका अनुसार दसैँलगायत चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याउन लागिएका करिब पाँच अर्ब रुपैयाँ मूल्य बराबरका सामान नाकामै रोकिएका छन् ।
यता, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागका महानिर्देशक रितेशकुमार शाक्यका अनुसार दैनिक २५ देखि ५० वटा फर्म तथा कम्पनीको अनुगमन भइरहेको छ ।
अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएर सामान बिक्री गर्ने व्यापारी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनले बताए । महानिर्देशक शाक्यले सबै व्यापारी तथा व्यवसायीलाई तोकिएको मूल्यमा वस्तु तथा सामान बिक्री वितरण गर्न आग्रह गरेका छन् ।
दसैँका बेला बजारमा किनमेलको चाप बढिरहेका बेला आपूर्ति सहज बनाउने, मूल्यवृद्धि नियन्त्रण गर्ने र उपभोक्तालाई ठगीबाट जोगाउने चुनौती सरकारसामु देखिएको छ ।
