राष्ट्र बैंकले कमायो ४ खर्बभन्दा बढी खुद नाफा

Heading1 BusinessSarokar | २९ माघ २०८२, बुधबार

नेपाल राष्ट्र बैंकको खुद नाफा एक वर्षको अवधिमा करिब १३८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा केन्द्रीय बैंकले ४ खर्ब १० अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

राष्ट्र बैंकको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ खर्ब ७२ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । यसरी एक वर्षमै बैंकको खुद नाफा २ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ अर्थात् १३७.८८ प्रतिशतले बढेको छ ।

बैंकको नाफामा भएको उच्च वृद्धिको प्रमुख कारण सुनचाँदी तथा विदेशी मुद्राको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ रहेको छ । पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ तथा हानिको हिसाब मिलान गर्नुअघिको खुद नाफा भने ८३ अर्ब ५६ करोड ९४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा ८० अर्ब ४८ करोड २६ लाख रुपैयाँ थियो ।

सुन तथा चाँदीको मूल्यमा भएको वृद्धिका कारण राष्ट्र बैंकले यी धातुको पुनर्मूल्याङ्कनबाट ७१ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ लाभ प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो लाभ ४६ अर्ब ८८ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, विदेशी विनिमयको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभले पनि बैंकको नाफा उल्लेख्य बढाएको छ । यस शीर्षकमा राष्ट्र बैंकले गत आर्थिक वर्षमा २ खर्ब ५४ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ लाभ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो लाभ ४५ अर्ब २ करोड ९९ लाख रुपैयाँ मात्रै थियो ।

मुलुकको विदेशी मुद्रा सञ्चिति ऐतिहासिक स्तरमा पुगेको अवस्थामा विदेशी विनिमयको पुनर्मूल्याङ्कनबाट प्राप्त लाभ राष्ट्र बैंकको खुद नाफा वृद्धिको मुख्य आधार बनेको देखिन्छ ।

यसैगरी, विदेशी मुद्राबाट प्राप्त खुद ब्याज आम्दानीमा समेत सुधार आएको छ । गत आर्थिक वर्षमा बैंकले विदेशी मुद्राबाट १ खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ९४ अर्ब ८१ करोड रुपैयाँको तुलनामा करिब २३ प्रतिशत बढी हो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp