३२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पिसीआर र ५,५१८ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १५ हजार ६११ नमुना परीक्षणमा ३४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयको विवरण अनुसार आइतवारको तुलनामा सोमवार संक्रमित हुनेको संख्या बढेको छ ।
आज सबैभन्दा धेरै काठमाडौंमा ६७७, झापामा ३३२, चितवनमा २०५, कास्कीमा १८३, ललितपुरमा १६७, भक्तपुरमा ११७ र सुनसरीमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २४५८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ ।
त्यस्तै आज देशैभरी थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।
हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३६ हजार ३६ जना होम आइसोलेशन र ३,३३५ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७९५ जना र भेन्टिलेटरमा १९७ जनाको उपचार भइरहेको छ । भेन्टिलेटर र आइसीयुमा उपचार गराउनेको संख्या आइतवार भन्दा बढी हो ।
त्यस्तै आइतवार देशैभरी १ लाख ५८ हजार ३३५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयले जानकारी दिएको छ ।