पहिरोका कारण काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा ठप्प
काठमाडौं- काठमाडौंको नागढुङ्गास्थित चिसापानीमा पहिरो खसेको छ । पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका छन् ।
नागढुङ्गाबाट एक किलोमिटर अगाडि चिसापानीमा पहिरो गएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारी दिए । सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको एसपी बस्नेतले जानकारी दिए ।
सिद्धार्थ राजमार्गका आधा दर्जन ठाउँमा पहिरो, हेलम्बुमा पनि सडक अवरुद्ध
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको आधादर्जन भन्दा धेरै ठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ । त्यसैगरी बाढी पहिरोको कारण सिन्धुपाल्चोकको हेलम्बुमा पनि सडक अवरुद्ध भएको छ ।
निरन्तरको वर्षाले पाल्पाको तिनाउ गाउँपालिका–३ को सिद्धबाबा क्षेत्रमा पहिरो खसेको छ । त्यस्तै तिनाउ ३ को सिसुवा, तिनाउ ५ को हिउदेखोला, केरावारी र जोरधारामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिका–७ बर्तुङ चोक नजिक, बगनासकाली गाउँपालिका ३ धैरेनी, बगनाशकाली गाउँपालिका–४ सेरामा र रम्भा गाउँपालिका– ३ सीतापहाडमा पनि सडकमा पहिरो खसेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
पहिरोका गाडी नचल्दा कारण बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, पर्वत, बागलुङ जाने यात्रुलाई समस्या भएको छ । कतिपय सवारी र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । पाल्पाको आर्यभन्ज्याङ र दोभान तर्फबाट पहिरो पन्छाउन सुरु गरिएको छ । आज दिनभरमा यातायातका साधन सञ्चालनमा आउन सक्ने त्वातीले बताए। सिद्धार्थ राजमार्ग बाहेक तानसेन रिडी खण्डको सम्मोबारीमा पनि पहिरो खसेको छ ।
हेलम्बुमा पनि सडक अवरुद्ध
त्यसैगरी लगातारको वर्षा र बाढीले पहिरो खस्दा सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । बर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीले जनाएको छ ।
त्यस क्षेत्रमा अहिले निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे । गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।
पैराबारीका घर जोखिममा
बाटो माथिबाट पहिरोसँगै ढुङ्गा खस्दा मेलम्ची–१० रामपुर पैराबारीका घर जोखिममा परेका छन् । गतवर्षदेखि नै पैराबारी ज्यामिरेमा सडक खन्ने क्रममा ढुङ्गा खसेर बसेको र यस वर्ष पनि ढुङ्गा खस्ने क्रम जारी रहेको स्थानीयवासी प्रशान्त कार्कीले जानकारी दिए ।
बाटोमुनि भूकम्पपीडितका पाँच घर पहिरोको जोखिममा परेका छन् । ढुङ्गा खसेर दुर्घटना हुने डरले आनन्दले बस्न सुत्न नसकिएको स्थानीयवासीको गुनासो छ । घरमाथि ठूलो ढुंगा अड्किएर बसेको छ । गत वर्षदेखि नै पहिरो पनि आइरहेको जानकारी नगरलाई गराए पनि चासो नदिएको गुनासो कार्कीले गरे । ‘पानी पर्न थालेपछि घर छाडेर भाग्नुपर्ने अवस्था छ, तर हाम्रो समस्यामा नगरपालिकाले चासो दिएन,’ उनले भने ।
सम्बन्धित खबर
पूर्ववर्ती सरकारलाई आरोपित गर्न मनोगत ढंगले बजेटको आकार घटाइयो : विष्णु पौडेल
१९ मंसिर २०८२, बिहीबार
श्रीलंकामा पेट्रोल भर्न दस दिन लाइनमा
१९ मंसिर २०८२, बिहीबार
सरुवा–बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउने काम बन्द गर्न अर्थ सचिव मरासिनीको आग्रह
१९ मंसिर २०८२, बिहीबार
