Banking Khabar
Heading1

न्यादी हाइड्रोपावरको आईपीओ असोज १५ गतेदेखि निष्काशन

September 24, 2021
सेयर:

काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यका २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले  २२ लाख ५० कित्ता साधारण सेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको  सेयरमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सक्ने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिने जनाइएको छ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयरको एप तथा वेबमार्फत पनि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।