पर्यटन प्रवर्द्धनका लागि ट्रेल रेस गर्दै पाँचपोखरी थाङपाल गाउँपालिका

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

काठमाडौं– विश्वको नवौं अग्लो स्थानमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ। बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन–२०२१ हुन लागेको हो।

पाँचपोखरीसँगै आमायांग्री, ढुक्पु, मेन्जुङ, मानम, अमिलोपानी, डुखाङ, हवेली, ड्रागन गुफा, नागीडाँडा, रैथानेश्वरी, च्योच्यो डाँडाको प्रवद्र्धन गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए।

यसअघिका प्रतियोगितामा विभिन्न देशका नागरिक पनि सहभागी थिए। यस वर्ष पनि सार्कलगायत अन्य देशबाट प्रतियोगी आउने भएकाले पपर्यटन प्रवद्र्धनमा प्रतियोगिताले सघाउ पुर्‍याउने विश्वास रहेको अध्यक्ष लामाको भनाइ छ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यसअघि पनि यस्ता प्रतियोगिता गरेको थियो। पहिले प्रतियोगिता आयोजना गरे पनि गएको वर्ष कोभिडका कारण स्थगन गरिएको गाउँपालिकाले जनाएको छ। जनैपूर्णिमाका दिन लाग्ने पाँचपोखरी मेलाका अवसरमा अघिल्लो वर्ष प्रतियोगिता गरिएको थियो। प्रतियोगिता आगामी कात्तिक २७ गते सञ्चालन गरिनेछ।

सो म्याराथनमा १५० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। म्याराथनमा सहभागी धावकमध्येबाट खुलातर्फ उत्कृष्ट १० भित्र पर्न सफल, सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट पाँचभित्र पर्न सफल र भेट्रानतर्फ उत्कृष्ट तीनभित्र पर्न सफल सहभागीलाई नगदसहित मेडल उपलब्ध गराइनेछ। सो म्याराथनमा सहभागी हुन चाहनेले दर्ता शुल्कवापत खुलातर्फ ३५ सय, सिन्धुपाल्चोकवासीका लागि २५ सय र विदेशीका लागि ८० डलर तिर्नुपर्नेछ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp