सामान्य अंकले घट्यो नेप्से, ४ अर्ब ९ करोडको कारोबार

अर्थतन्त्र BusinessSarokar | २२ पुष २०८२, सोमबार

काठमाडौं- लगातार ओरालो लागिरहेको सेयरबजार आज पनि समान्य अंकले घटेको छ। पुँजीबजार मापक परिसूचक (नेप्से) आज (आइतबार) १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा ओर्लिएको छ।

आज चार अर्ब नौ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जानकारी दिएको छ। कूल २३० वटा कम्पनीका ७४ लाख ३४ हजार ५३१ कित्ता सेयर ६१ हजार ४०५ पटक किनबेच भएका थिए।

आज कारोबार भएकामध्ये १०३ वटा कम्पनीको सेयर मूल्य बढेको थियो भने ७५ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने आज ०.२५ अंकले बढेर ५०२.४४ विन्दुमा ओर्लिएको छ।

आज बोटलर्स नेपाल तराई लिमिटेडको मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको कारोबारमा नकारात्मक सर्किट लागेको थियो।

आज महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै २७ करोड ३९ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै तीनलाख ७९ हजार ५१४ कित्ता तथा साहस ऊर्जाको सबैभन्दा धेरै ११ हजार ४९९ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp