चैतमा बिमा शुल्क १२ प्रतिशतले बढ्यो

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

चैतमा बिमा कम्पनीहरुले कुल १ खर्ब ३१ अर्ब १३ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको चैत महिनासम्मको तुलनामा यो १२.१९ प्रतिशतले बढी हो । उक्त अवधिमा जीवन बिमा कम्पनीहरुको बिमा शुल्क संकलन ९.१३ र निर्जीवन बिमा कम्पनीहरुको २४.६८ प्रतिशतले बढेको बिमा समितिले जनाएको छ ।

यस्तै, गत आर्थिक वर्षको चैतको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जीवन बिमा कम्पनीहरुले बिक्री गरेको कुल बिमालेख संख्या ४१.४८ प्रतिशतले बढेको छ । सोही अवधिमा निर्जीवन बिमा कम्पनीको बिमालेख बिक्री संख्या ३.०८ प्रतिशतले घटेको समितिले सार्वजनिक गरेको मासिक तथ्यांकमा उल्लेख छ ।

बिमा क्षेत्रलाई राज्यले प्राथमिकता दिएको भनिए पनि गत चैतसम्म मुलुकको कुल जनसंख्याको करिब ६३ प्रतिशत संख्या बिमा सेवाबाट वञ्चित छ। बिमा समितिको तथ्यांक अनुसार गत चैतसम्म करिब ३७.३४ प्रतिशत जनसंख्यामा बिमा पहुँच पुगेको छ । उल्लिखित तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरुले गरेको बिमा पनि समावेश छ । गत आर्थिक वर्षको चैतमा यो कुल जनसंख्याको २६.७८ प्रतिशत थियो । धेरै नागरिकमा बिमासम्बन्धी चेतना नहुनुका साथै कम्पनीहरू सहर तथा सुविधा सम्पन्न क्षेत्रमा सीमित भएकाले अझै पनि जनसंख्याको ठूलो हिस्सा बिमा सेवाबाट वञ्चित हुन परेको जानकारहरु बताउँछन् ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले अनिवार्य रुपमा बिमा गर्नुपर्ने हुन्छ । यसकारण सामान्यतया बिमा पहुँचको तथ्यांकमा वैदेशिक रोजगारीमा गएकाहरुको बिमालाई अलग गरिन्छ । वैदेशिक रोजगारीमा गएका नागरिकहरुले गरेको बिमालाई हटाउँदा गत चैतसम्म कुल जनसंख्याको ३४.५१ प्रतिशतमा मात्र बिमा पहुँच पुगेको समितिले जनाएको छ । २०७७ चैतसम्म बिमा पहुँच साढे २४ प्रतिशत थियो । गत चैतसम्म ८ लाख ५२ हजार ८ सय २७ जनाले वैदेशिक रोजगार बिमा गरेको समितिको तथ्यांक छ । उल्लिखित संख्या पनि जोडेर बिमा पहुँच कुल जनसंख्याको करिब साढे ३७ प्रतिशत पुगेको देखिएको हो ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp