नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (जेठ २६ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४.२७५ कित्ता हकप्रद जारी गरेको हो ।
हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बैशाख २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ ।