पूँजी वृद्धि र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर निष्कासन गर्दै १२ कम्पनी

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

पूँजी वृद्धि, नयाँ आयोजना लगानी र ऋण तिर्नका लागि विभिन्न १२ कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छन् ।

banner ads
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, ङादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी, अरुण भ्याली हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, एनएलजी इन्स्योरेन्स, रिडी पावर, लिवर्टी इनर्जी, बरुण हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका हुन् । यी सबै कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिइसकेका छन् । हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृतिसमेत पाइसकेका छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले २ करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले पनि बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउन निर्देशन दिएसँगै हकप्रद शेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात् ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हाइड्रोपावर कम्पनीहरूले भने नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् । हाइड्रोपावर कम्पनीहरूले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपछि उनीहरूले यो विकल्प रोजेका हुन् ।

हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावर कम्पनीले १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । आँखुखोला जलविद्युत कम्पनीले १ करोड २० लाख, अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीले समान ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् ।

रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता, लिवर्टी इनर्जी कम्पनीले ७५ लाख, बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार १५० कित्ता र छ्याङदी हाइड्रोपावरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । त्यस्तै जोशी हाइड्रोपावरले २४ लाख १४ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । नारायणी डेभलमपेन्ट बैंकले भने २६ लाख २४ हजार ६७६कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp