Banking Khabar
Heading2

विकास बैंकहरूको खराब कर्जा १० प्रतिशत नजिक, अधिकांश बैंकमा जोखिम वृद्धि

November 14, 2025
सेयर:

काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को असोजसम्म विकास बैंकहरूको खराब कर्जा उल्लेखनीय रूपमा बढेको छ। नयाँ कर्जा प्रवाह सुस्त हुनु र पुराना कर्जाको ब्याज तथा मूलधन असुली कमजोर बन्दै जाँदा बैंकहरूको जोखिम सूचक १० प्रतिशत नजिक पुगेको हो।

अपरिष्कृत वित्तीय विवरणअनुसार असोज महिनामा १६ ओटा विकास बैंकहरूको औसत खराब कर्जा अनुपात ९.८६ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यो अनुपात ७.८९ प्रतिशत मात्र रहेको थियो। एक वर्षमै खराब कर्जा सूचक १.९८ प्रतिशत बिन्दुले बढेको छ।

सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको छ। सो बैंकले चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक नगरेकाले औसत मूल्यांकनमा समावेश गरिएको छैन।

विवरण सार्वजनिक गरेका १६ मध्ये ११ बैंकको खराब कर्जा बढेको छ भने पाँच बैंकले मात्र यसमा सुधार गर्न सकेका छन्। असोजमा सबैभन्दा उच्च खराब कर्जा नारायणी डेभलपमेन्ट बैंकको ५७.०४ प्रतिशत रहेको छ। मितेरी डेभलपमेन्ट बैंक भने ०.५५ प्रतिशत खराब कर्जासहित सबैभन्दा कम जोखिममा रहेको देखिन्छ।

आर्थिक शिथिलता र माग घटेकै कारण दुई वर्षयता बैंकहरू दबाबमा छन्। भदौ २३–२४ को ‘जेनजी आन्दोलन’ पछि वित्तीय कारोबार थप सुस्त बनेको र कर्जा असुलीमा चुनौती बढेको बैंकहरू बताउँछन्। धितो लिलामी प्रक्रिया अघि बढाए पनि सम्पत्ति बिक्री नहुँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति (NPA Assets) बढ्दै गएको छ।

राष्ट्र बैंकका निर्देशअनुसार कर्जा भाखा नाघेको अवधि अनुसार असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराबमा वर्गीकरण हुन्छ। यसमध्ये पुनर्तालिकीकरण/पुनःसंरचना, कमसल, शंकास्पद र खराब कर्जालाई ‘निष्क्रिय’ कर्जा मानिन्छ। खराब कर्जा बढ्नु बैंकहरूको सम्पत्ति गुणस्तरमा गम्भीर दबाव बढेको सङ्केत मानिन्छ।