युनिलिभर नेपालको नाफा ४३ प्रतिशतले घट्यो

२९ कार्तिक २०८२, शुक्रबार ०६:५९

काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम गत वर्षको पहिलो त्रैमासको तुलनामा ४३ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीले ५२ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको कुल आम्दानी यस वर्ष ११ प्रतिशतले घटेर २ अर्ब २ करोड रुपैयाँमा झरेको छ। त्यस्तै खर्च भने केही बढ्दै १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। आम्दानी घट्नु र खर्च बढ्नुले नाफामा गिरावट आएको कम्पनीले जनाएको छ। गत वर्ष कम्पनीले २ अर्ब २८ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो।

सूचीकृत कम्पनीहरूमध्ये सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको रूपमा परिचित युनिलिभर नेपालले यस वर्ष पनि आकर्षक लाभांश प्रस्ताव गरेको छ। ९ करोड २१ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले प्रतिशेयर १ हजार ८४२ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ। कात्तिक २५ गते सम्पन्न वार्षिक साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ हजार ८८४ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ६ हजार ३ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *