प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयक बहुमतबाट तथा राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो।
आर्थिक विधेयकमाथि सांसद हरिप्रसाद भुसाल र सुशील खड्काले दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिएका थिए भने सांसद गंगालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले दर्ता गराएका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।
राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले वैदेशिक ऋण उत्पादनमूलक तथा पूर्वाधार आयोजनामा मात्र खर्च गरिने स्पष्ट पारे। उनले पूर्वाधार विकासले आर्थिक गतिविधि विस्तार, यातायात दूरी घटाउने र लागत कम गर्ने उल्लेख गर्दै ऋणको प्रभावकारी उपयोगमा सरकार सचेत रहेको बताए।
उनले ऋण लिएर निर्माण गरिएका दुई अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाले फरक सन्देश दिएको उल्लेख गर्दै त्यस्ता आयोजनाको प्रभावकारिता र लगानी प्रतिफलमा निरन्तर निगरानी आवश्यक रहेको धारणा व्यक्त गरे।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले दफावार छलफलपछि संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरेका थिए। सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले दर्ता गराएका संशोधन प्रस्ताव अस्वीकृत भएका थिए भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।