काठमाडौं । नेपाल अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको १८औँ नाडा अटो शोमा १२३ वटा सवारी ब्रान्ड सहभागी हुने भएका छन्। प्रदर्शनी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।
नाडाका अनुसार प्रदर्शनीमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै टायर, ब्याट्री, चार्जिङ, स्पेयर पार्ट्स तथा अटोमोबाइल प्रविधिसम्बन्धी कम्पनीको सहभागिता रहनेछ। प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य व्यवसायसहित २०० भन्दा बढी स्टल रहनेछन्।
प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुईपाङ्ग्रे सवारीका १३ तथा स्पेयर पार्ट्स र अन्य अटोमोटिभ उत्पादनका ७० वटा स्टल रहने नाडाले जनाएको छ।
चारपाङ्ग्रे सवारीतर्फ बीवाईडी, चांगन, चेरी, डीपल, जीली, जीडब्ल्यूएम, लिपमोटर, एमजी, नाम्मी, स्कोडा, सुजुकी र टाटा ईभीलगायत ब्रान्ड सहभागी हुनेछन्। यस्तै दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा, एम्पियर, अप्रिलिया, सिप्रदी यात्री, भिडा, जोन्सेन र रिभोल्टलगायत ब्रान्डले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन्।
प्रदर्शनीमा पेट्रोलियम इन्धनमा आधारित सवारीसँगै विद्युतीय दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीलाई समेत प्राथमिकता दिइनेछ। यसबाट नेपालमा विस्तार हुँदै गएको विद्युतीय तथा स्मार्ट मोबिलिटीको प्रवृत्तिलाई समेत प्रदर्शनीमार्फत देखाइने आयोजकको भनाइ छ।
अटो शोमा नबिल, एनआईसी एशिया, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, प्रभु, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंकलगायत वित्तीय संस्थाको सहभागिता रहनेछ। महालक्ष्मी विकास बैंक, गुराँस फाइनान्स तथा शिखर इन्स्योरेन्सलगायत संस्थासमेत प्रदर्शनीमा सहभागी हुनेछन्।
त्यस्तै एपोलो टायर्स, सीएट, गल्फ, मोबिल, मिचेलिन, राल्सन, एसियन ब्याट्री, टाटा ब्याट्री र एक्साइडसँग सम्बन्धित उत्पादन तथा सेवाका साथै चार्जिङ कम्पनी, हेल्मेट ब्रान्ड, सवारी ट्र्याकिङ तथा प्रविधि कम्पनी र विभिन्न स्पेयर पार्ट्स तथा अटो कम्पोनेन्ट व्यवसायीले समेत आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।
करिब तीन लाख वर्गफुट क्षेत्रमा आयोजना हुने अटो शोमा ‘मेड इन नेपाल/मेड फर नेपाल’ अवधारणालाई समेत प्राथमिकता दिइने भएको छ। नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष स्थान दिइने नाडाले जनाएको छ।
नेपालमै उत्पादन भएका यात्रीका सवारीसाधन, विभिन्न स्कुटर तथा बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेट प्रदर्शनीका प्रमुख आकर्षण रहनेछन्। यसले आयातमा निर्भर रहेको अटोमोबाइल क्षेत्र क्रमशः स्वदेशी उत्पादन र एसेम्बलिङतर्फ अघि बढिरहेको सन्देश दिने नाडाको भनाइ छ।
यसपटकको अटो शोमा भविष्यको मोबिलिटी प्रविधिलाई समेत विशेष रूपमा प्रस्तुत गरिने भएको छ। जी वान ह्युमनोइड रोबोट र गो टू क्वाड्रुपेड रोबोट प्रदर्शन गरिनेछ भने विभिन्न ब्रान्डका नयाँ मोडलसमेत सार्वजनिक गरिने नाडाले जनाएको छ।
स्मार्ट मोबिलिटी, दिगो सवारी विकास तथा कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियमसमेत आयोजना हुनेछ। यसले अटोमोबाइल क्षेत्रको आगामी दिशा, प्रविधि र दिगो यातायातबारे छलफलको अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ।
नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले अटो शोले नेपालको अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउने बताए। विद्युतीय सवारीको आधुनिक प्रविधि, दिगो गतिशीलता र नयाँ उत्पादनसँगै स्वदेशी उद्योगको सम्भावनालाई समेत प्रदर्शनीले उजागर गर्ने उनको भनाइ छ।
‘नाडा अटो शो केवल अन्तर्राष्ट्रिय ब्रान्डको जमघट होइन, नेपालमा आफ्नै औद्योगिक सम्भावनाको जीवन्त ऐना पनि हो,’ उप्रेतीले भने।
नाडाले सुस्त बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन, उपभोक्तामा उत्साह बढाउन तथा आर्थिक गतिविधि विस्तारमा समेत अटो शोले योगदान पुर्याउने अपेक्षा गरेको छ।
अटो शोका लागि ‘खल्ती’ एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। आयोजकका अनुसार निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशत क्यासब्याकको व्यवस्था समेत गरिएको छ।