Banking Khabar
Heading2

उपत्यकामा यो वर्षकै ठूलो वर्षा : सडक जलमग्न, विभिन्न स्थानमा डुबान

September 6, 2021
सेयर:

काठमाडौं- काठमाडौंमा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । बाढीले शंखमुल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।

बागमती र धोबिखोला आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा बिद्युत सेवा समेत अबरुद्ध भएको छ । बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिएका छन् । काठमाडौंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिएका छन् ।

पछिल्लो तथ्याङ्क आइनसकेकाले अझ यो भन्दा धेरै वर्षा भएको हुन सक्ने मौसमविद् अर्यालले बताएका छन् । यसपालि बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको पनि मौसमविद् अर्यालले बताए । पछिल्लो एक घण्टामा भक्तपुरको नगरकोटमा पनि ४१ मिलिमिटर पानी परेको छ ।

मनसुनी न्यून चापीय रेखा सामान्य अवस्था भन्दा तल रहे पनि बङ्गालको उत्तर पूर्वी भू–भागमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले स्थानीय वायुको समेत विकास हुँदा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।

काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै, बङ्गालबाट आएको जलवाष्पयुक्त हावाकै प्रभावका कारण लुम्बिनी र २ नम्बर प्रदेशका धेरै ठाउँमा पनि पानी परिरहेको छ । आज दिनभरि नै मौसम बद्ली भइ धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै भोलि पनि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा पानी पर्ने जनाइएको छ ।
बनेपाको पुलबजार डुवानमा, अरनिको राजमार्ग अवरुद्ध
गए रातिदेखिको अविरल वर्षाले पुण्यमाता खोलामा आएको बाढीले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ । डुबानका कारण अरनिको राजमार्गमा यातायात सञ्चालन समेत अवरुद्ध भएको छ । पुलबजारका केही घरका पहिलो तल्ला डुबानमा परेको छ । केही सवारीसाधनहरू पनि डुबानमा फसेको छ भने पार्किङ गरी राखेका यातायातका साधनहरू पनि डुबानमा परेको प्रहरीले जनाएको छ ।

सोही खोलाको बाढीका कारण बनेपाकै धनेश्वर पुल आसपास पनि डुवानमा परेको छ । उक्त डुवानका कारण बनेपा पनौती सडक अवरुद्ध भई यातायात ठप्प रहेको छ । पुलबजारमा अवरुद्ध भएपछि सवारी साधनहरूलाई नाला हुँदै भक्तपुरबाट पठाइएको प्रहरीले जनाएको छ ।

बनेपाको पुलबजार र गोदामचोकाको धनेश्वर पुल आसपास वर्षेनी डुवानमा पर्दै आएको छ । मानव बस्तीले खोला साँगुरो पार्दै आएपछि डुवान हुन थालेको हो । उक्त स्थानमा वर्षेनी डुवान पर्दै आएको भए पनि दीर्घकालिन समस्या समाधानको कुनै प्रयास भएको पाइएको छैन । वर्षाका कारण जिल्लाका अन्य खोलामा पनि पानीको सतह बढेको छ । हालसम्म मानवीय क्षतीको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।