Banking Khabar
Heading2

मेलम्ची बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माण सुरु

September 21, 2021
सेयर:

काठमाडौं– गत असार १ र साउन १६ गते आएको बाढीका कारण क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने पहुँच सडक पुनर्निर्माण सुरु भएको छ। बाढीका कारण झण्डै तीन महिना सडक अवरुद्ध थियो। सडक खुलेपछि  स्थानीयवासीलाई आवतजावतमा समेत सजिलो हुनेछ भने आयोजनास्थलका संरचनाको मर्मत अघि बढ्नेछ ।

मेलम्ची पुलबजारबाट अम्बाथानसम्म २२ किमी सडकमध्ये १४ किमीमा ‘ट्र्याक’ खुलिसकेको छ । अब चनौटेबाट अघि आठ किमी सडक खुलाउन बाँकी रहेको छ। चनौटेमा रातो पुल बगाएपछि त्योभन्दा अगाडिको सडक खुलाउन नसकिएको हो।

पुलबजारबाट ट्र्याक खोल्दै जाँदा चनौटेबाट अम्बाथानसम्म थप दुई पुल बगाएको छ। त्यहाँ बेलिब्रिज नबनाएसम्म यातायात चालु नहुने देखिएको छ। केही दिन पहिलेदेखि चनौटेसम्म सवारीसाधन चल्न थालेको छ। न्वार खोलामा सडक कटान भएकाले अहिले साना गाडी मात्रै चलिरहेका छन्। त्यो मर्मत भएपछि ठूलो गाडी जान सक्नेछ।

चनौटेसम्म यात्रुबाहक बस चल्न थालेमा हेलम्बुका गाउँपालिकाका–४, ५, ६ र ७ का बासिन्दालाई सजिलो हुनेछ। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको भनिए पनि त्यसको यकीन हुन सकिरहेको छैन । आयोजनास्थलसम्म पहुँच सडक सम्पन्न नभएकाले क्षति यकीन हुन नसकेको खानेपानी मन्त्रालयले जनाएको छ।

पहिलो पटक असार १ गते आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो। त्यतिबेला झण्डै रु एक अर्बको क्षति भएको अनुमान गरिएको थियो । साउन महिनामा पटकपटक बाढी जाँदा झण्डै रु दुई अर्ब ४० करोडको क्षति भएको आयोजनाले जनाएको छ।