Banking Khabar
Heading1

लाङटाङ खोला जलविद्युत् आयोजनामा सनराइज बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

September 30, 2021
सेयर:

काठमाडौं– रसुवामा बन्न लागेको ‘लाङटाङ खोला जलविद्युत् आयोजना’का लागि लगनी जुटेको छ। आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकले लगानी गर्न लागेका हुन्।

सनराइज बैंकको अगुवाइमा आयोजनामा करीब ३ अर्ब रुपैयाँ ऋणलगानीसम्बन्धी सम्झौता भएको हो। प्रवर्द्धक मल्टी इनर्जी डेभलपमेण्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सम्झौता भएको हो।

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। आयोजना निर्माण सुरु भएको ३० महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् चिलिमे हब सबस्टेशनमा जोडिनेछ। यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ, जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ।

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो। तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बिल अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ।