काठमाडौं– गोंगबुस्थित नयाँ बसपार्कबाट दशैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन्। गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको हो।
कुल १६१ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय बसपार्क गोंगबुबाट हाल ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्। हाल नयाँ बसपार्कमा दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन्।
काठमाडौंको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलंकीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको संख्या न्यून रहेको बताए। ‘निरन्तर वर्षाका कारण बाटो बिग्रिँदा सवारी आवतजावतमा समस्या परेको छ,’ उनले भने।