अब कृषियोग्य जग्गामा घर बनाउन नपाइने, कसरी थाहा पाउने ?
अन्तत सरकारले भूउपयोग नियमावली स्वीकृत गरेको छ । २ वर्ष लामो रस्साकस्सीपछि स्वीकृत भएको नियमावली १/२ दिनमै राजपत्रमा प्रकाशित गरेर लागू गर्ने तयारी गरिएको छ ।
नेपालको कुल क्षेत्रफललाई १० ओटा वर्गमा विभाजन गर्दै तोकिएको जग्गामा तोकिएको बाहेकका काम गर्न नपाइने गरी भूउपयोग नियमावली स्वीकृत गरिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बताइन् ।
कृषियोग्य जग्गामा किनिएका घडेरीलाई कस्तो असर पर्छ ?
भूउपयोग नियमावली राजपत्रमा आएकै दिनदेखि लागूहुने हुँदा कृषियोग्य जग्गामा किनिएका घडेरीमा घर बनाउन पाइने छैन । तर यस अघि बनिसकेका घरहरु भने सरकारले नभत्काउने मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले बताए ।
भूउपयोग ऐन आज भन्दा २ वर्ष अघि नै आइसकेको र उक्त ऐन आउँदा नै कृषि योग्य जग्गामा घर बनाउन पाइँदैन भनेर भनिसकेकोले अहिले आएर कसैले थाहा नपाएरै कृषियोग्य जग्गामा घडेरी किन्यौ भन्न नपाइने उनको भनाइ छ ।
बाटो पुग्दैमा आवास क्षेत्र बनाउन पाइन्छ ?
बाटोले छुने सबै जग्गा आवास क्षेत्र नहुने पनि मन्त्रालयको भनाइ छ । बाटोले छोएको जग्गा किनेको छु, मैले त घर बनाउन पाइन्छ भन्ने सोच्नु भएको छ भने त्यस्तो नहुने उनले बताए ।
कृषि क्षेत्रलाई पनि सडक सञ्जालले जोड्ने, चक्लाबन्दी गरेर खेती गर्न प्रोत्साहन गर्ने सरकारको नीति छ । त्यसैले कृषि क्षेत्रको कित्ताकाटमा थप कडाइ हुने मन्त्रालयको भनाइ छ ।
कसरी थाहा पाउने कृषि क्षेत्र हो की आवास क्षेत्र हो ?
मन्त्रालयका सहसचिव जोशीका अनुसार अहिले वस्ती विकास भइसकेको ठाउँमा त्यसको केही क्षेत्रसम्म आवास क्षेत्रकै रुपमा वर्गिरकण गरिएको छ । वरिपरि घर बनिसकेको र बीचमा २/४ जनाले मात्रै खतीपाती गरिरहेको अवस्थामा उक्त जग्गालाई पनि आवास क्षेत्रकै रुपमा राखिने छ ।
खेतीपाती गर्न नसकिने तर कुनै ठाउँको वैकल्पीक आवास क्षेत्र वा औद्योगिक क्षेत्र बन्ने अवस्थामा उक्त ठाउँमा वस्ती नै नबसेको भएपनि आवास क्षेत्र वा औद्योगिक क्षेत्रको रुपमा वर्गिकरण गरिने छ ।
तर सिंचाई सुविधा भएको, उत्पादकत्व राम्रो भएको ठाउँमा बाटोले छोएको र केही वस्ती बसिसकेको अवस्थामा पनि कृषियोग्य जग्गाकै रुपमा वर्गिकरण गरिने छ । तर बनिसकेका घरहरू भने बस्न योग्य भएसम्म बस्न पाइने छ । नयाँ घर बनाउनु परेमा उनीहरूले पनि आवास क्षेत्रमै गएर घर बनाउनुपर्ने मन्त्रालयको भनाइ छ ।
कडाइका साथ अनुगमन हुने
मन्त्रालयले नियमावली लागू भइसकेपछि स्थानीय तहले कार्यान्वयन गरे/नगरेको कडाइका साथ अनुगमन गर्ने प्रवक्ता जोशीले बताए । अहिले भूमि व्यवस्थापन विभाग र मन्त्रालयबाट अनुगमन हुने र पछि छुट्टै संयन्त्र बनाउने मन्त्रालयको तयारी छ ।
के के छ भूउपयोग ऐन र नियमावलीमा ?
संसदबाट २०७६ भदौमै जारी भएको भूउपयोग ऐनको नियमावली आउन भने झन्डै ३ वर्ष लागेको छ ।
नियमावलीको मुख्य उदेश्य भनेको देशको समग्र भूमिलाई बिभिन्न भूउपयोग क्षेत्रमा बर्गीकरण गर्ने, संघ प्रदेश र स्थानीयस्तरमा भूउपयोग योजना तर्जुमा गर्ने, भूउपयोग बर्गीकरण र योजना अनुसार भूमिको उपयोग गर्ने, उपयोगको आधारमा भूमिकर निर्धारण गर्ने हो ।
त्यस्तै यस ऐनको प्रभावकारी कार्यान्वयन मार्फत कृषियोग्य जग्गाको संरक्षण र समुचित उपयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, खाद्य सुरक्षा र खाद्य सम्प्रभुता सुनिश्चित गर्ने, गाँउ बस्ती र आवास क्षेत्रलाई सुरक्षित, जोखिम रहित र व्यवस्थित तुल्याउन योजनाबद्ध शहरी विकासलाई बढावा दिने, सुरक्षित र सुविधासम्पन्न औद्योगिक र व्यवसायिक क्षेत्रहरूको विकास गर्ने, वन वातावरणको संरक्षण र विकास सुनिश्चित गर्ने, जलवायु परिवर्तनका असरले गर्दा निम्तिने बिभिन्न किसिमका बिपद जोखिमहरू न्यूनीकरण गर्न वातावरण र विकास बीच सन्तुलन कायम गर्ने लगायत गतिबिधीहरू सञ्चालन र व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।
भूउपयोग ऐन र नियमावलीका मुख्य विशेषताहरू
भूमिलाइ भूबनौट, भूमिको क्षमता तथा उपयुक्तता, भूमिको मौजुदा उपयोग र आवश्यकताको आधारमा कृषि क्षेत्र,आवासीय क्षेत्र,व्यावसायिक क्षेत्र,औद्योगिक क्षेत्र,खानी तथा खनिज क्षेत्र,वन क्षेत्र,सार्वजनिक उपयोगको क्षेत्र,सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको क्षेत्र, र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र गरी १० ओटा भूउपयोग क्षेत्रमा बर्गीकरण गरिएको छ ।
संघीय तहले देशभरीको भूउपयोग नक्सांकन गर्ने वा गराउने,संघले तयार गरेका नक्सा तथा डाटा स्थानीय तहलाइ हस्तान्तरण गर्ने, स्थानीय तहले आवश्यकता अनुसार नक्सा परिमार्जन अद्यावधिक गरी लागू गर्न सक्नेछन् ।
स्थानीय तहले आफ्नो क्षेत्र भित्रको जग्गालाई भूउपयोग नक्सा तथा स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी माथि उल्लेख गरिएबमोजिमका भूउपयोग क्षेत्रमा बर्गीकरण गर्नेछन् ।
माथिका क्षेत्रहरुले स्थानीय आवश्यकतालाई नसमेट्ने देखिएमा संघीय भूउपयोग परिषद्को सहमती लिई आवश्यकता अनुसार थप क्षेत्रमा बर्गीकरण गर्न सक्ने छन् ।
एउटै भूउपयोग क्षेत्र भित्र बिभिन्न उपक्षेत्रहरु जस्तो कृषि क्षेत्र भित्र अन्नबाली उत्पादन उपक्षेत्र, फलफूल उपक्षेत्र आदी बर्गीकरण गर्न सकिने छ ।
बर्गीकरणको सूचना सर्बसाधारणको जानकारीको लागि प्रकाशन गर्ने र बर्गीकरणमा चित्त नबुझ्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारी समक्ष उजूरी गर्न सक्ने छन् ।
तीन तहको भूउपयोग योजना तयार गर्ने तर संघीय भूउपयोग योजना प्रतिकूल नहुने गरी प्रादेशिक र स्थानीय भूउपयोग योजना तयार गर्नु पर्ने छ ।
एउटा क्षेत्रमा बर्गिकृत भूमि अर्को प्रयोजनमा उपयोग गर्न नमिल्ने, आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्र बाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने, भूउपयोग परिबर्तन गर्न कुनै ब्यक्तिले निवेदन दिन सक्ने, उक्त निवेदन प्रदेश परिषदले गठन गर्ने विज्ञ समितिको अध्ययन प्रतिवेदन, प्रदेश परिषदको सहमती र कार्यान्वयन समितिको सिफारिसमा सथानीय परिषदले भूउपयोग परिवर्तनको निर्णय गर्न सक्ने छ ।
महत्वपुर्ण खनिज पदार्थ फेला परेमा, प्राथमिकता प्राप्त आयोजना संचालन गर्नु परेमा, अन्तर्राष्ट्रिय सीमा, सुरक्षा, विकास, पर्यटन, विश्व सम्पदा सूची वा अन्य मनासिब कारणले संघीय सरकारले भूउपयोग परिवर्तन गर्न सक्ने छ ।
बिपद् जोखिमको अवस्था ब्यबस्थापन गर्न स्थानीय तहले भूउपयोग परिबर्तन गरी असुरक्षित बस्ती सार्न सक्ने छन् ।
जग्गाको खण्डीकरण नियन्त्रण तथा कित्ताकाट गर्ने कार्यलाई नियमन गर्न आवश्यक आधार र मापदण्ड तयार गरिने छ ।
कृषि भूमिमा यान्त्रीकरण गर्न कित्ता जग्गा एकीकरण गरी चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्न, गराउन सक्ने छन् ।
नदीको प्राकृतिक वहाव परिवर्तन हुने गरी भूमिको उपयोग गरेमा, तहगत भूउपयोग नक्शा र भूउपयोग योजना विपरीतका कार्य गरेमा,काबु बाहिरको पारिस्थिति बाहेक कृषिक्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा,ऐनमा उल्लेख भएबाहेक निर्धारित भूउपयोग क्षेत्र वर्गीकरण परिवर्तन गरेमा कसूर गरेको मानिने र त्यस्तो अवस्थामा एकलाख रुपैयाँसम्म जरिवाना हुने, भूउपयोग परितवर्तन गरेमा जरिवानाका साथै त्यस्तो जग्गा छ महिनाभित्र साविक बमोजिम भूउपयोग कायम गर्ने गरी आदेश दिन सक्ने छन् ।
यसको लागि प्रमुख जिल्ला अधिकारीलाई अदालतलाइ भए सरहको अधिकार हुने छ भने प्रमुख जिल्ला अधिकारीको आदेश चित्त नबुझेमा मात्रै अदालत जान पाइने छ । अभियान संवाददाता
सम्बन्धित खबर
पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग
२७ मंसिर २०८२, शुक्रबार
सहकारीको कारोबार रकमका आधारमा नियामकीय क्षेत्राधिकार तोकिँदै
२७ मंसिर २०८२, शुक्रबार‘नीतिमा परिवर्तन भइरहँदा उद्योगी व्यवसायी समस्यामा’
२७ मंसिर २०८२, शुक्रबार
