पदयात्रा खुलाउन पर्यटन व्यवसायीको माग
काठमाडौं– पर्यटन व्यवासायीहरुले पदयात्रा खुलाउन माग गरेका छन्। पदमार्गमा जाने पर्यटकका लागि खुकुलो व्यवस्था मिलाउन व्यवसायीले सरकारसँग माग गरेका हुन्।
खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको पनि चासो बढीरहेको छ। नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएको छ। यसले तत्काल ठूलो समूह बनाएर घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्राको पर्यटनलाई खुला गर्नुपर्छ भन्ने आवाज उठ्न थालेको हो।
नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरूलाई खोपको पूरा मात्रा लगाइसकेको छ। यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट पनि लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गर्न व्यवासायीहरुको माग छ।
ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अनअराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए। एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ। सहासिक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्न सके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने उनको भनाइ छ।
कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो। २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो। अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढिरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन्।